काठमाडौं। भारतमा आज केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले नयाँ आर्थिक वर्ष २०२६/२७ को बजेट प्रस्तुत गर्दै छन्। वित्तमन्त्री निर्मलाले भारतीय संसद्काे संयुक्त सदन लोकसभामा लगातार नवौं बजेट पेस गर्न लागेकी हुन्। सन् २०१९ मा पहिलोपटक प्रस्तुत गरेकी सीतामरणले त्यसयता लगातार बजेट प्रस्तुत गर्दै आएकी छन्।
सरकारले हरेक आर्थिक वर्ष सुरु हुनुअघि संसदमा केन्द्रीय बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ। भारतको आर्थिक वर्ष १ अप्रिल तारिखबाट सुरु भएर अर्को वर्षको मार्च ३१ मा समाप्त हुन्छ।
गत वर्ष सीतारमणले ५० लाख ६५ हजार ३४५ करोड भारु बराबरको बजेट घोषणा गरेकी थिइन्। त्यसमा कुल पुँजीगत खर्च ११ लाख २१ हजार ९० करोड र चालू खर्च ३९ लाख ४५ हजार करोड थियो। यसपटकको बजेटको आकार झनै ठूलो हुने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
यो बजेटले आयकर छुटको सीमा बढाउन सक्ने अनुमान गरिएको छ। गत वर्ष सरकारले वार्षिक १२ लाख रुपैयाँ आम्दानीमा कुनै कर लगाएको थिएन। करका अन्य दर पनि हेरफेर, सुन र चाँदीको आयात शुल्क घट्न घटाउने, प्रधानमन्त्री कृषि सम्मान निधि योजनाअन्तर्गत उपलब्ध रकम बढाउनेलगायत विषय बजेटमा समावेश गरिएको बताइन्छ। अहिले वार्षिक ६ हजार रुपैयाँ दिइन्छ, यसलाई बढाएर १२ हजार भारु पुर्याउन माग हुँदै आएको छ।
बजेटमा कार, मोटरसाइकलको कर बढाउने, रक्षा खर्च वृद्धिलगायत विषय समेटिएको भारतीयसञ्चार माध्यमले उल्लेख गरेका छन्। भारतले अधिनस्थ भुटान, छिमेकी नेपालसहित श्रीलंका, बंगलादेश, अफगानिस्तानलगायतका देशलाई पनि बजेटमै उपलब्ध हुने सहयोग घोषणा गर्दै आएको छ। आजको बजेटमा पनि उक्त कार्यक्रमले निरन्तरता पाउनेछ।