काठमाडौं। उच्च शिक्षालय तथा माध्यमिक संघ नेपाल र त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रबीच आपसी सहकार्य विस्तार गर्ने उद्देश्यसहित समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
काठमाडौंस्थित क्यापिटल कलेज एन्ड रिसर्च सेन्टरमा आयोजित विशेष कार्यक्रममा हिसान र टीयू लायन्स रक्तसञ्चार केन्द्रबीच औपचारिक रुपमा सम्झौता भएको हो। समझदारीपत्रमा टीयू लायन्स रक्तसञ्चार केन्द्रका तर्फबाट अध्यक्ष डा. राजेन्द्र गिरी र हिसानका तर्फबाट अध्यक्ष युवराज शर्माले हस्ताक्षर गरेका हुन्।
समझदारीपत्र हस्ताक्षर कार्यक्रममा हिसानका उपाध्यक्ष, महासचिव तथा अन्य पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यस्तै, टीयू लायन्स रक्तसञ्चार केन्द्रका तर्फबाट पूर्वअध्यक्ष, कार्यसमिति सदस्य, मेडिकल डाइरेक्टर, विपिन नेपाल तथा कार्यवाहक जनरल म्यानेजर कोमल अधिकारीलगायत सहभागी थिए ।
सम्झौताअनुसार हिसान आबद्ध शैक्षिक संस्थाहरूमा नियमित, योजनाबद्ध तथा दीगो रूपमा रक्तदान कार्यक्रम सञ्चालन गरिनेछ। साथै, रक्तदानसम्बन्धी जनचेतनामूलक तथा जागरण कार्यक्रम आयोजना गर्ने, विद्यार्थीहरूलाई स्वयंसेवी सामाजिक कार्य तथा On-the-Job Training (OJT) कार्यक्रममार्फत सहभागी गराउने विषय पनि समझदारीपत्रमा समेटिएको छ।
रक्तदान कार्यक्रम सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्ति, सामग्री, रक्त संकलन, परीक्षण, ढुवानी तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी टीयू लायन्स रक्तसञ्चार केन्द्रले लिने व्यवस्था गरिएको छ।
समझदारीपत्र हस्ताक्षर भएको दिन नै सीसीआरसी कलेज, बालकुमारी, काठमाडौंमा पहिलो संयुक्त रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको थियो। उक्त कार्यक्रममा १९ जना रक्तदाताले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए। कार्यक्रम सफल बनाउन सीसीआरसी का विद्यार्थी स्वयंसेवकहरूले स्थानीय समुदायमा रक्तदानको आव्हान गरेका थिए भने कार्यक्रमको सम्पूर्ण समन्वय कलेजका उप–प्राचार्य दीपक उपाध्यायले गरेका थिए।
सम्झौताको अवधि तीन वर्षको रहने जनाइएको छ। आगामी दिनमा शिक्षा, स्वास्थ्य, अनुसन्धान, आर्थिक सहयोग तथा सामाजिक क्षेत्रमा सहकार्य विस्तार गर्दै सुरक्षित, नियमित र गुणस्तरीय रक्त आपूर्ति सुनिश्चित गर्ने दुवै संस्थाले प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रमको अन्त्यमा सीसीआरसी कलेजका तर्फबाट उपस्थित अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रमको सफल आयोजना तथा प्रभावकारी सहकार्यका लागि त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रले हिसान र सीसीआरसी कलेजप्रति धन्यवाद व्यक्त गरेको छ।