काठमाडौं। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार नेपालमा बैंकिङ प्रयोगकर्ताको संख्या बढेको छ। नेपालमा बैंकिङ र वित्तीय सेवा पाउने मानिसको संख्या र उनीहरूले गर्ने कारोबारको अवस्थामा सुधार देखिएको हो।
राष्ट्र बैंकले तयार पारेको वित्तीय समावेशी सूचकांक (फाइनान्सियल इन्कुल्सन इन्डेक्स फर नेपाल)ले देशको वित्तीय समावेशन स्तर अघिल्लो वर्षको तुलनामा बढेको देखाएको हो।
आर्थिक वर्ष २०८१/८२ मा नेपालको वित्तीय समावेशन सूचकांक ०.५३ मा पुगेको छ, जुन गत वर्ष ०.४७ मा सीमित थियो।सूचकांकका तीनवटै आधारभूत आयाममा सकारात्मक परिवर्तन देखिएको छ। वित्तीय पहुँचतर्फको सूचकांक ०.५३ पुगेको छ, जसले देशभर बैंक तथा वित्तीय संस्था, शाखा, सेवा केन्द्र र डिजिटल वित्तीय माध्यमको दायरा बढ्दै गएको देखाएको हो।
त्यसैगरी वित्तीय सेवा उपयोगसम्बन्धी सूचकांक ०.५४ पुगेको छ। नागरिक तथा घरपरिवारहरूको बैंक खाता सञ्चालन, डिजिटल भुक्तानी, बीमा तथा अन्य वित्तीय सेवामा संलग्नता विस्तार भइरहेको प्रतिवेदनमा उल्लेख छ। वित्तीय सेवाको गुणस्तर मापन गर्ने सूचकांक पनि ०.५० मा पुगेको छ।
सुधार आउनुमा मुख्य तीन वटा कारणहरू देखिएका छन्। पहिलो कारण, गाउँगाउँमा बैंकका शाखा पुग्नु र मोबाइल बैंकिङजस्ता प्रविधिको विस्तार हुनु हो। अहिले धेरै मानिसले आफ्नो हातमा रहेको मोबाइलबाटै बैंकको काम गर्न सक्छन्। यसले गर्दा बैंकसम्म धाउनुपर्ने दुःख कम भएको छ।
दोस्रो कारण, मानिसहरूले बैंकमा खाता मात्र खोलेका छैनन्। बरु मोबाइलबाट पैसा पठाउने, बिजुली–पानीको बिल तिर्ने र बिमा गर्ने जस्ता काममा पनि बैंकको प्रयोग बढाएका छन्। यसले गर्दा खल्तीमा नगद बोकेर हिँड्नुपर्ने झन्झट बिस्तारै कम हुँदै गएको छ।
तेस्रो र सबैभन्दा महत्त्वपूर्ण कुरा, बैंकको सेवा पहिलेको तुलनामा अझ सुरक्षित र भरपर्दो भएको छ। मानिसमा आफ्नो पैसाको सही व्यवस्थापन कसरी गर्ने र बैंकबाट कसरी फाइदा लिने भन्ने चेतना बढेको छ।
कारोबारमा पारदर्शिता बढेको र ग्राहकलाई दिने सेवामा सुधार गरेकाले पनि धेरै मानिस बैंकप्रति आकर्षित भएको प्रतिवेदनको निष्कर्ष छ।