काठमाडौं। नेपाल स्टक एक्चसेञ्ज (नेप्से) मा सूचीकृत एक दर्जन लघुवित्त कम्पनीले चालू आर्थिक वर्ष पुससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। वित्तीय विवरण सार्वजनिक गरेका १० वटा लघुवित्तको मुनाफा गत आवको तुलनामा ८.१८ प्रतिशतले बढेको छ भने दुईटाको मुनाफामा सामान्य गिरावट आएको छ।
१० वटा लघुवित्तले ९० करोड ६४ लाख रुपैयाँ मुनाफा आर्जन गरेका हुन्। गत आर्थिक वर्षको तुलनामा लघुवित्तको मुनाफा ८.१९ प्रतिशतले वृद्धि भएको छ। लघुवित्तले गत आवको सोही अवधिमा ८३ करोड ७९ लाख रुपैयाँ कमाएका थिए।
साना किसान विकास लघुवित्तले समीक्षा अवधिमा सर्वाधिक नाफा कमाएर पहिलो नम्बरमा परेको छ। साना विकासले यस अवधिमा ३८ करोड ९ लाख खुद नाफा कमाएको छ भने मुनाफामा २६.४२ प्रतिशतले गिरावट आएको छ। गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ५१ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो।
यस्तै, दोस्रोमा स्वरोजगार लघुवित्तले १२ करोड ७४ लाख, मेरोमाइक्रो फाइनान्सले ९ करोड ८५ लाख, आरएसडीसी लघुवित्तले सात करोड ६६ लाख, फस्र्ट माइक्रोफाइनान्सले ७ करोड चार लाख, हिमालयन लघुवित्तले चार करोड ४७ लाख, सपोर्ट माइक्रोफाइनान्सले ३ करोड १७ लाख, आत्मनिर्भर लघुवित्तले ३ करोड ५ लाख, गुराँस लघुवित्तले २ करोड ६६ लाख र एनआईसी एसिया लघुवित्तले १ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
चालू आर्थिक वर्षको पुससम्ममा सूचीकृत १० लघुवित्त कम्पनीले २ अर्ब ७५ करोड ५ लाख ब्याज आम्दानीबबापत आर्जन गरेका छन् । गत आर्थिक वर्षको तुलनामा लघुवित्तको ब्याज आम्दानी ४.३८ प्रतिशतले बढेको हो।
समीक्षा अवधिसम्मको वित्तीय विवरण सार्वजनिक गरेका लघुवित्तहरुमध्ये १० वटाको खुद ब्याज आम्दानी वृद्धि भएको छ भने तीन वटाको सामान्य घटेको छ।