काठमाडौं। भ्रष्टाचार अन्त्यसहितको माग राख्दै भदौ २३ र २४ गते भएको आन्दोलनमा व्यवसायिक संरचनाहरु तोडफोड र आगजनी भए। आन्दोलनकारीको निशानामा भाटभटेनीका संरचनाहरु पनि परेका थिए। २४ गतेको आन्दोलनमा तोडफोड, लुटपाट र आगजनीमा कोटेश्वरसहित भाटभटेनीका १२ वटा सुपरमार्केट पूर्ण रुपमा जलेका थिए।
भाटभटेनीको संचरनामा लागेको आगोबाट ठूलो क्षति बेहोरेको थियो। फलाम पग्लिएका थिए। सपनाहरू जले। र, कोटेश्वर भाटभटेनीको विशाल संरचना खरानीमा रूपान्तरण भयो। जेनजी आन्दोलनको क्षणमा आगलागी र लुटपाटको सिकार बनेको सुपरमार्केट धेरैका लागि सकिएको कथा जस्तो देखिन्थ्यो।
तर, त्यही खरानीबाट ६० दिनमै मीनबहादुर गुरुङको अटुट आत्मविश्वास, निरन्तर उपस्थिति र सयौँ श्रमिकको पसिनाले उठाउन सफल भएका छन्। माघ २८ गतेदेखि पूर्ण सञ्चालनमा आउने भएको छ। यसअघि बालुवाटारमा रहेको वेयरहाउस सञ्चालनमा ल्याइसकेका छन्।
दैनिक ५५० श्रमिक खटिए
भाटभटेनीलाई पुरानै स्वरूपमा फर्काउन मीनबहादुरले दैनिक ५५० जना श्रमिक परिचालन गरेका थिए। ‘बिहान ७ देखि राति ११ बजेसम्म उहाँहरु खटेर आज यो संरचना तयार भयो,’ भाटभटेनीका अध्यक्ष गुरुङले भने, ‘यो संचनाले कुनै क्षतिले मनोबल तोड्न नसक्ने सन्देश दिएको छ। मेरो ब्रेक लागेको पाइला फेरि अघि बढ्यो।’

श्रमिकको अथक मेहतले ६० दिनमै पाँच तलाको संरचना बनाउन सकिएको उनले बताए। ‘मेरो सपना र श्रमिकको पसिनाले ६० दिनमै संरचना तयार गरी सञ्चालनमा ल्याउन सक्नु मेरो लागि खुसीको कुरा हो,’ अध्यक्ष गुरुङले भने, ‘पहिलाभन्दा केही फरक भने भएको छ।’
कोटेश्वर भाटभटेनीको कलर पनि केही परिवर्तन भएको छ। सुरुमा खरानी कलरको रुपमा रहेकोमा अहिले आन्दोलनको क्रममा खरानीनै बनाएकाले त्यसको प्रतीक स्वरुप सेतो र खैरो बनाएको उनले बताए।
मीनबहादुर आफै खटिन्थ्ये फिल्डमा
‘श्रमिकको भरमा मात्र काम छाड्दा एकोहोरो दबाब हुने भएकाले म आफैँ दिनभरि यही हुन्थ्ये,’ मीनबहादुरले भने, ‘उहाँहरूसँगै बनाएको खाना खाएर यो संरचना तयार भयो।’ यो दुई महिना विशेष कामका लागि बाहिर जानेबाहेक अन्य समय बिहान ७ बजेदेखि राति ९ बजेसम्मनै त्यही रहने गरेको बताए।

कोटेश्वरको संरचनामा रेक्टोफिट गरेर बनाइएको छ। जहाँ जहाँ रेक्टोफिट गरेर बनाउन सकिन्छ। त्यहीअनुसारको बनाउने गरी अहिले काम भइरहेको उनको भनाइ थियो।
दुई हजार श्रमिक छन् फिल्डमा
ध्वस्त संरचना निर्माणका लागि देशभरि भाटभटेनीमा मात्र दुई हजार जना श्रमिकहरू आबद्ध छन्। २१ गतेबाट महाराजगञ्जको भाटभटेनी निर्माण सुरु गर्ने बताउँदै त्यहाँ २ महिनाअघि सञ्चालनमा ल्याउने गरी काम थालिने अध्यक्ष गुरुङको भनाइ छ।
‘म आफैँ २१ गतेबाट महाराजगञ्जमै रहन्छु,’ अध्यक्ष गुरुङले भने, ‘त्यसपछि बौद्ध र पोखरा प्राथमिकतामा राखेको छु।’ अहिले पनि ध्वस्त संरचना पन्छाउने र बनाउने काम सबै तिर भइरहेको बताउँदै ठूलो जनशक्ति भने एक ठाउँमा तयार पारेपछि अर्को ठाउँमा पठाउने उनले बताए।
आन्दोलनको क्रममा उपत्यकाभित्रका बौद्ध, नक्साल, कोटेश्वर र महाराजगञ्जका गरी चार र बालुवाटारको भण्डारण केन्द्र गरी ५ ठाउँमा आगजनी गरिएको थियो। त्यस्तै, उपत्यकाबाहिर पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, दमक, विराटनगर, धरानका स्टोरमा आगजनी भएको थियो। यीबाहेक ९ ओटा स्टोरमा तोडफोड र सामान लुटपाट भएको थियो।
