काठमाडौं। यातायात व्यवस्था विभाग लयमा फर्केको छ। व्यवसायीको भौतिक सहयोगले गत भदौ २३ र २४ गतेको जेनजी प्रर्दशनमा आगजनी तथा तोडफोडले ध्वस्त भएको विभाग तीन महिनामा लयमा फर्किएको हो।
काठमाडौंंको मीनभवनस्थित संघीय सरकारअर्न्तगतको यातायात व्यवस्था विभागको भौतिक संरचना जेनजी प्रर्दशनमा ध्वस्त भएको थियो। तीन महिना त्रिपालमुनीबाट विभागले सेवा दिएको थियो। गत पुस मसान्तमा व्यवसायीको सहयोगले ध्वस्त बनेको भवन पुर्ननिर्माण गरी आफ्नै भवनबाट सेवा दिन थालेको हो।
विभागअन्र्तगतका सवारी परीक्षण, अन्तरदेशीय यातायात व्यवस्थापन, यातायात र सवारी मापदण्ड निर्धारण शाखाका निर्देशक श्रीकान्त यादवले कार्यालय पूर्ण रुपमा ध्वस्त अवस्थामा भए पनि करिब तीनदेखि साढे तीन महिनाभित्र सेवा पुनः सञ्चालन गर्न सकिएको बताएका छन्।
‘आन्दोलनपछि सुरुवाती चरणमा कर्मचारीले त्रिपालमुनी बसेर सेवा सञ्चालन गर्यौं,’ उनले भने, ‘इँट्टा र भवनको आधारबाहेक अधिकांश संरचना, तार, फर्निचरलगायत सबै जलेको अवस्था थियो।’
विभाग लयमा फर्किनुमा निजी क्षेत्र र स्टेकहोल्डरको ठूलो सहयोग रहेको निर्देशक यादवले बताए। ‘हामीले व्यवस्थापन पक्षले समन्वय मात्र गरेको हो,’ उनले भने, ‘भौतिक सहयोग भने विभिन्न संघसंस्था तथा कम्पनीबाट आएको छ।’
विभागमा लयमा फर्केसँगै धमाधाम काम अगाडि सारेको छ। विभागले १२ लाख वटा लाइसेन्स छाप्नु पर्नेमध्ये २ लाख छाप्न पठाइएको र १९ हजार छपिएर वितरण भइरहेको यादवले बताएका छन्।
यस्तै, इम्बोस्ड नम्बर प्लेट छपाईका लागि म्याद थप गरिएको छ। विभाग र डेकाटुर-टाइगर आईटी (द कोअपरेसन)बीच भएको सुरुको सम्झौता २०७३ जेठ १७ गते भएको थियो। त्यसयता दुई पटक समय थप भइसकेको थियो। दोस्रो पटक थपिएको समय २०८२ मंसिर ११ गतेसम्मका लागि कायम थियो। त्यो समय पनि सकिएकाले फेरि तीन वर्षका लागि म्याद थपिएको छ।
यादवका अनुसार, नेपाल अटोमोबाइल्स इम्पोर्ट एण्ड म्यानुफेक्चर एसोशिएसन (नाइमा) सबैभन्दा धेरै सहयोग गरेको बताए। यस्तै, नाडा अटोमोबाइल्स एसोशिएसन अफ नेपाल (नाडा), यातायात व्यवसायी राष्ट्रिय महासंघ, ट्रक यातायात व्यवसायी महासंघलगायतले आन्दोलनमा ध्वस्त बनेको संरचनामा बनाउन सहयोग गरेका हुन्।
यातायात क्षेत्रका व्यवासायीले विभागलाई फर्निचर, वायरिङ, ढोका झ्याल बनाई दिएर सहयोग गरेका हुन्।
यस्तै, एमएडब्ल्यु कम्पनी, नेपालका लागि चार पांग्रे सवारी साधन बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक, नेपालका लागि दुईपांग्रे सवारी साधन टीभीएसको आधिकारिक वितरक जगदम्बा मोर्टस र अन्य अटो क्षेत्रका विभिन्न समूहले विभागलाई सहयोग गरेका हुन्।
यातायात क्षेत्रका व्यवासायीले विभागलाई फर्निचर, वायरिङ, ढोका झ्याल बनाई दिएर सहयोग गरेका हुन्। विभागलाई रकमभन्दा पनि आवश्यकता आधारमा अटोसेक्टरका विभिन्न व्यवसायीले सहयोग गरेको निर्देशक यादवले बताए।

यस्तै, १२ लाख रुपैयाँमा ४ वटा दुई पांग्रे सवारी साधन खरिदका लागि विभागको प्रक्रियामा रहे पनि सोहीमा थप दुई वटा दुई पांग्रे सवारी साधन व्यवसायीले सहयोग गरेको विभागले जनाएको छ।
आन्दोलनमा विभागमा प्रयोग भइरहेका कम्युटर क्षति भएका थिए। तर, विभागले २५ वटा कम्प्युटर स्टोरमा बाँकी रहेकाले सो कम्प्युटर आफूहरुले प्रयोग गरेको निर्देशक यादवले बताए। ‘प्रयोगमा रहेका कम्प्युटरहरू जले, नयाँ खरिद गरी स्टोरमा राखिएका करिब २५ कम्प्युटर सुरक्षित थियो, सोही कम्प्युटर हामीले प्रयोग गर्दै छौँ,’ उनले भने।
जेनजी आन्दोलनमा विभागको ३७ वटा सवारी साधन जलेर ध्वस्त भएका थिए। सोमध्ये करिब ९ वटा चार पांग्रे र करिब २८ वटा दुई पांग्रे थिए। यी सवारी साधन हालसम्म पूर्ण प्रतिस्थापन भइसकेको छैनन्। जेनजी आन्दोलनमा विभागको इम्बोस्ट नम्बर, सवारी साधन र भौतिक संरचनालगायत करिब ५ अर्ब बराबर रकमको क्षति भएको यादवले बताए।
यसमध्ये करिब तीन अर्ब रुपैयाँ इम्बोस सिस्टमको मात्रै रहेको बताए। बाँकी करिब दुई अर्ब रकम भवन संरचना, उपकरण, फर्निचर, सवारी साधनलगायत रहेको यादवको भनाइ छ।