काठमाडौं। आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालको कुल वस्तु निर्यात ४३.८ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा कुल निर्यात १४२ अर्ब २ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको थियो।
गन्तव्यका आधारमा हेर्दा भारततर्फको निर्यात ५७.० प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकतर्फको निर्यात १०.७ प्रतिशतले बढेको छ। चीनतर्फको निर्यात भने ६६.७ प्रतिशतले घटेको छ।
वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, जुत्ता तथा चप्पललगायत वस्तुको निर्यात बढेको छ। जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकलाका सामान तथा अन्य हस्तकलाजन्य वस्तुको निर्यात भने घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
यस्तै, आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा कुल वस्तु आयात १४.२ प्रतिशतले वृद्धि भई ९ खर्ब ३९ अर्ब २ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा आयात ७.१ प्रतिशतले वृद्धि भएको थियो।
यस अवधिमा कुल वस्तु व्यापार घाटा १०.१ प्रतिशतले बढेर ७ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा ४.४ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात १५.१ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १२.० प्रतिशत रहेको थियो।