काठमाडौं। रुसी तेल किनेर राष्ट्रपति भ्लादमिर पुटिनको युक्रेन युद्धलाई सघाएको आरोप लगाउँदै अमेरिका आयात हुने भारतीय वस्तुमा थप ५० प्रतिशत आयात शुल्क लगाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग नयाँ व्यापारिक सम्झौता भएको घोषणा गरेका छन्। महिनौंसम्मको व्यापारिक तनावपछि भारत र अमेरिकाले सोमबार दुईपक्षीय व्यापार सम्झौताको घोषणा गरेका हुन्। सम्झौतापछि अमेरिकाले भारतीय आयातमा लगाउँदै आएको थप शुल्क ५० प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झार्नेछ।
सम्झौतापछि गार्मेन्ट, छाला र समुद्री खानेकुरा निर्यातकलाई थप प्रतिस्पर्धी बनाउनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समा पोस्ट गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पको ट्रुथ सोसियलमा भनेका छन्,‘प्रिय मित्र’। ट्रम्पसँग सौहार्दपूर्ण कुराकानी गरेको र भारतीय सामानमा १८ प्रतिशत घटाइएको शुल्कका लागि १.४ अर्ब जनताको तर्फबाट धन्यवाद दिएको मोदीले उल्लेख गरेका छन्।
राष्ट्रपति ट्रम्पले अबदेखि भारत रुसी तेल खरिद नगर्ने र भेनेजुयलाबाट किन्न सहमत भएको दाबी गरिएको छ। यद्यपि यसबारे मोदीले केही उल्लेख गरेका छैनन्। राष्ट्रपति ट्रम्पको आदेशमा भेनेजुयलाका समकक्षी निकोलस मादुरोलाई अपहरण गरेर अमेरिका लगिएपछि हाल थुनामा राखिएको छ। राष्ट्रपति ट्रम्पले भेनेजुयलाको तेल अमेरिकी स्वार्थअनुसार बेचिने र अबको ग्राहक भारत हुने बताइसकेका छन्।
राष्ट्रपति ट्रम्पका अनुसार मोदीले अमेरिकीविरुद्धको शुल्क र गैरशुल्क अवरोध शून्यमा ल्याउने पनि सहमति जनाएका छन्।अमेरिका र भारतबीचको नयाँ व्यापार सम्झौता भारत र ईयूले व्यापार सम्झौता घोषणा गरेको ६ दिनपछि भएको हो।
ट्रम्पले भनेका थिए, मोदीले रुसी तेल किन्न रोक्ने र अमेरिकीबाट धेरै किन्न सहमति जनाएका छन्। ५०० अर्ब डलरको ऊर्जा, प्रविधि र कृषिजन्य उत्पादन भारतले खरिद गर्नेछ, जुन कदमले युक्रेनमा युद्ध अन्त्य गर्न मद्दत गर्नेछ। राष्ट्रपति ट्रम्पका अनुसार मोदीले अमेरिकीविरुद्धको शुल्क र गैरशुल्क अवरोध शून्यमा ल्याउने पनि सहमति जनाएका छन्।
भारतका लागि यो भियतनाम, बंगलादेश, इन्डोनेसिया, दक्षिण कोरिया र चीनजस्ता उच्च शुल्क भोग्ने देशभन्दा राम्रो सम्झौता रहेको दाबी अमेरिकाको छे। भारतका विदेश मामिला मन्त्री एस जयशंकर यो साता समकक्षी मार्को रुबियोको अध्यक्षतामा हुने महत्वपूर्ण खनिज मन्त्रीस्तरीय बैठकमा सहभागी भएका छन्। अमेरिका र भारतबीचको नयाँ व्यापार सम्झौता भारत र ईयूले व्यापार सम्झौता घोषणा गरेको ६ दिनपछि भएको हो।
भारत–ईयू सम्झौतापछि ट्रम्प प्रशासनका सदस्यबाट कडा टिप्पणी गरिएका थिए। यद्यपि, प्रधानमन्त्री मोदीले एक्स ह् पोस्टमा भनेका छन्, ‘जब दुईवटा ठूलो अर्थव्यवस्था र विश्वका सबैभन्दा ठूला लोकतन्त्र सँगसँगै काम गर्छन्, यसले हाम्रो जनतालाई लाभ पुर्याउँछ र पारस्परिक लाभको लागि विशाल अवसर खोल्छ। ट्रम्पको नेतृत्व विश्व शान्ति, स्थिरता, र समृद्धिको लागि महत्त्वपूर्ण छ। भारतले शान्तिको लागि उनका प्रयासलाई पूर्ण समर्थन गर्दछ। ट्रम्पसँग नजिकबाट काम गर्न तयार छौं।’
ट्रम्पले भारतप्रति पारस्परिक करबाहेक रसियाको तेल किन्नेसम्बन्धी अतिरिक्त २५ प्रतिशत करको घोषणा गरेका थिए। अमेरिका भारतसँगको व्यापार सम्झौता मित्रता र मोदीप्रतिको सम्मानका कारण नयाँ सम्झौतामा पुगिएको ट्रम्पले उल्लेख गरेका छन्।
‘हाम्रो अद्भुत सम्बन्ध भारतसँग भविष्यमा अझ बलियो हुनेछ। प्रधानमन्त्री मोदी र म दुई व्यक्ति हौं जो काम पूरा गर्छौं, जुन अधिकांशका लागि भन्न सकिँदैन’, ट्रम्पले आफ्नो सामाजिक सन्जाल पोस्टमा पनि भने, ‘मोदीसँग कुरा गर्न पाउनु सम्मानको विषय हो। उनी मेरो सबैभन्दा ठूलो मित्रमध्ये एक र आफ्नो देशका शक्तिशाली र सम्मानित नेता हुन्।’
ट्रम्पका अनुसार भारतले ऊर्जा, प्रविधि, कृषि र कोइला लगायतका क्षेत्रमा ५०० अर्ब अमेरिकी डलरभन्दा बढीका अमेरिकी सामान खरिद गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।
यसअघि अमेरिकाले अगस्तमा भारतमाथि ५० प्रतिशतसम्म भन्सार कर लगाएको थियो, जुन एसियाली मुलुकमध्ये सबैभन्दा उच्च थियो। त्यसमा रुसबाट तेल खरिदसँग जोडिएको २५ प्रतिशत अतिरिक्त कर पनि समावेश थियो। ह्वाइट हाउसका एक अधिकारीले सम्झौताअन्तर्गत रुससँग सम्बन्धित कर हटाइने र अन्य कर घटाएर १८ प्रतिशतमा सीमित गरिने पुष्टि गरेका छन्।
अमेरिकी कर लागू भएपछि भारतबाट अमेरिकातर्फ हुने निर्यात तीव्र घटेको थियो। यही कारण भारतले अन्य मुलुकसँग पनि व्यापारिक साझेदारी खोजिरहेको थियो।

गत साता भारत र युरोपेली युनियन (ईयू)बीच भएको स्वतन्त्र व्यापार सम्झौताले दुवैतर्फका प्रायः सबै वस्तुमा कर घटाउने लक्ष्य राखेको छ। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनले यसलाई ‘सबैभन्दा ठूलो सम्झौता’ भनेकी छन्। ईयूका अनुसार यस सम्झौताले सन् २०३२ सम्म भारततर्फको युरोपेली निर्यात दोब्बर बनाउने अपेक्षा गरिएको छ।
भारत र अमेरिकाबीचको महिनौं लामो व्यापार तनाव घटेसँगै आयातीत अर्थतन्त्रमा निर्भर नेपालका लागि भने ठूलो राहत हुनेछ। नेपालको करिब ८० प्रतिशत आयात भारतमाथि निर्भर छ। नेपालले अमेरिकी डलरमार्फत कारोबार गर्दै आएको छ। भारत अमेरिकाबीचको नयाँ व्यापार सम्झौतापछि खस्किएको व्यापार पुनः बढ्दा भारुको मूल्य स्थिर र बलियो हुँदा नेपालका लागि फाइदा हुनेछ। नेपालले अधिकांश वस्तु भारत हुँदै आयात गर्दै आएको छ।
नेपाली मुद्रा भारुसँग स्थिर विनिमय दरमा कायम गरिएकाले अमेरिकी डलर भारतीय मुद्राभन्दा बलियो हुँदा त्यसको प्रत्यक्ष असर नेपालमा अमेरिकी डलरको मूल्यमा पनि पर्छ।अर्थविद्का अनुसार अमेरिकी डलरको मूल्य बढ्नुको सम्बन्ध अमेरिकाले भारतलाई लगाएको थप आयात शुल्क पनि हो। यसको उदाहरण सन् २००० को जनवरी १ मा ७० रुपैयाँभन्दा कम रहेको अमेरिकी डलरको सटही दर २५ वर्षमा दोब्बर हुनुलाई मानिएको छ।
अमेरिकाले आयात शुल्क थपेपछि अमेरिकामा हुने भारतीय निर्यात ठूलो मात्रामा घटेको र त्यसको असर भारुमा परेको भारतीय अर्थविद्ले बताउँदै आएका छन्। अहिले अमेरिकाको कडा नीतिका कारण डलरको तुलनामा भारु कमजोर भएकाले सम्झौतापछि बलियो हुँदा नेपालका लागि भने व्यापारमा लाभ लिन सकिनेछ।
अमेरिकाले लगाएको थप शुल्कका कारण निर्यात घटेको र प्रत्यक्ष वैदेशिक लगानी कम भएसँगै भारु मूल्य तलमाथि हुँदा आयातमा निर्भर नेपाललाई महँगो मूल्य तिरेर सामान खरिद गर्नुपर्ने अवस्था छ। ऋमेरिका भारत सम्झौतापछि आयात शुल्क घटेसँगै भारतले पनि यसअघि लगाउँदै आएको थप शुल्क समायोजन गर्नेछ, जुन नेपालका लागि पनि फाइदाजनक हुनेछ।