काठमाडौं। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले सोमबार बैंक सञ्चालक समिति बैठकमा राजीनामा बुझाएका हुन्।
बैंकका अनुसार पूर्वअध्यक्ष देवीप्रसाद भट्टचन र उनका साझेदार कुसुम लामाको लेनदेनसँग सम्बन्धित विषयमा प्रहरीले अनुसन्धान थालेपछि उक्त अनुसन्धानलाई सहयोग पुर्याउने उद्देश्यले शेरचनले राजीनामा दिएका हुन्।
राजीनामापछि शेरचनले बैंकको बोर्ड र व्यवस्थापनलाई सम्बोधन गर्दै चुनौतीपूर्ण परिस्थितिमा पनि उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन्। उनले सम्पूर्ण कर्मचारीलाई एकता, धैर्य र आत्मबलका साथ जिम्मेवारी निर्वाह गर्न आह्वान गरे। बैंकबाट बाहिर रहे पनि संस्थाप्रति आफ्नो पूर्ण सहयोग निरन्तर रहने उनले स्पष्ट पारेका छन्।
शेरचनकै नेतृत्वमा २०७९ माघमा सेञ्चुरी कमर्सियल बैंकलाई प्रभु बैंकमा मर्ज गरिएको थियो। मर्जपछि प्रभु बैंक अझ ठूलो वाणिज्य बैंकको रूपमा स्थापित भएको छ।
शेरचन यसअघि तत्कालीन प्रभु विकास बैंकका सीईओ थिए। उनी प्रभु बैंकको सीईओ नियुक्त हुँदा समस्याग्रस्त किष्ट बैंक र ग्रान्ड बैंक समाहित भइसकेका थिए, जसका कारण बैंकको खराब कर्जा उच्च थियो। तर, उनको कार्यकालमा खराब कर्जा असुलीमा उल्लेखनीय प्रगति भएको बैंकले जनाएको छ।
२०७१ भदौ ३० गते तत्कालीन किष्ट बैंक, प्रभु विकास बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स मर्ज भई प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको थियो। सोही वर्ष कात्तिकमा तत्कालीन सीईओ कुमार लम्सालले राजीनामा दिएपछि शेरचनले कार्यवाहक सीईओको जिम्मेवारी सम्हालेका थिए।
त्यसपछि २०७१ माघ २९ मा ग्रान्ड बैंक नेपाल पनि प्रभु बैंकमा गाभिएको थियो। साथै, खारेजीमा गएको नेपाल विकास बैंकलाई समेत प्रभुले आफूमा समाहित गरेको थियो। सबल र सक्षम संस्थाका रूपमा चिनिएको किष्ट बैंक समस्यामा परेपछि तथा ग्रान्ड बैंक संकटग्रस्त बनेसँगै ती संस्थाको व्यवस्थापन र पुनर्संरचनाको जिम्मेवारी प्रभु समूहले लिएको थियो।
समस्यामा परेका बैंक तथा वित्तीय संस्थालाई गाभेर सबल संस्था बनाउने शेरचनको दीर्घकालीन सोच र नेतृत्वले प्रभु बैंकलाई प्रतिस्पर्धी र मजबुत बनाएको मानिन्छ।