काठमाडाैं। नेपालको बैंकिङ क्षेत्रमा ‘टर्नअराउन्ड स्पेसलिस्ट’ को रूपमा परिचित सुमन शर्मालाई प्रभु बैंकले आफ्नो नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। विगत केही समयदेखि विभिन्न समस्यामा उल्झिएको प्रभु बैंकलाई पुनः ट्र्याकमा फर्काउने जिम्मेवारी अब शर्माको काँधमा आउने भएको हो।
माछापुच्छ्रे बैंक, तत्कालीन सनराइज बैंकलगायत नेपालका प्रतिष्ठित बैंकमा सफल नेतृत्व दिइसकेका शर्मा नेपाली बैंकिङ उद्योगमा एक सम्मानित नाम हाे। सुशासन, पारदर्शिता र नतिजामुखी नेतृत्वका लागि चिनिने शर्माले आफ्नो करियरमा जहाँ पनि काम गरे, त्यहाँ उल्लेखनीय सुधार ल्याएका छन्। उनको व्यावसायिक यात्रा नेपालको वित्तीय क्षेत्रको विकास यात्रासँगै जोडिएको छ।
माछापुच्छ्रे बैंकमा रहँदा शर्माले संस्थालाई ग्रामीण र अर्धसहरी क्षेत्रमा विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। त्यस्तै, सनराइज बैंकमा उनको नेतृत्वले संस्थागत सुदृढीकरण र ग्राहक सेवामा नयाँ मापदण्ड स्थापित गर्यो। जोखिम व्यवस्थापन प्रणालीमा सुधार, डिजिटल बैंकिङ सेवाको विस्तार, कर्मचारी क्षमता विकास कार्यक्रम र नियामकीय अनुपालनमा कडाइ गर्ने काम उनका प्रमुख योगदान हुन्।
बैंकिङ क्षेत्रका विश्लेषकहरू शर्मालाई ‘रणनीतिक सोचाइ र कार्यान्वयन क्षमता भएको नेतृत्वकर्ता’ का रूपमा हेर्छन्। नेपाल बैंकर्स संघका एक पूर्वपदाधिकारीले भने, ‘सुमन शर्मा जस्ता अनुभवी नेतृत्व नै अहिले प्रभु बैंकलाई चाहिएको छ। उनीसँग समस्या पहिचान गर्ने र समाधानमुखी योजना बनाउने क्षमता छ।’
वित्तीय क्षेत्रका अर्का विज्ञले शर्मालाई ‘सुशासनको प्रतीक’ को संज्ञा दिँदै भने, ‘जहाँ पनि शर्माजी गएका छन्, त्यहाँ पारदर्शिता र जवाफदेहिता बढेको छ। यो प्रभु बैंकका लागि सकारात्मक संकेत हो।’
प्रभु बैंक हालका दिनमा तरलता समस्या, गुणस्तरीय कर्जाको प्रतिशत बढ्नु र बजार विश्वासमा कमीजस्ता समस्यामा फसेको छ। यस्तो अवस्थामा शर्माजस्तो अनुभवी नेतृत्वको आवश्यकता महसुस भएको प्रभू बैंकका एक सञ्चालक समिति सदस्यले बताए। बैंकको तरलता स्थिति सुधार्ने, गैरकर्जा घटाउने, कर्मचारी र ग्राहक मनोबल उच्च बनाउने, नियामकसँगको सम्बन्ध प्रगाढ बनाउने र बजारमा विश्वास पुनर्स्थापना गर्ने जस्ता ठूला चुनौती शर्मा समक्ष छन्।
बैंकिङ विश्लेषकहरू शर्माको नियुक्तिलाई प्रभु बैंकका लागि ‘नयाँ सुरुवात’ को रूपमा हेर्छन्। उनको ट्र्याक रेकर्डले संकटमा रहेको बैंकलाई पनि सफलताको बाटोमा डोर्याउन सक्ने विश्वास दिलाउँछ। तर, बैंकिङ क्षेत्रका जानकारहरू एक्लै सीईओको क्षमताले मात्र सबै समस्या समाधान हुँदैन। सञ्चालक समिति, कर्मचारी र सरोकारवालाको पूर्ण सहयोग र समन्वय आवश्यक रहेकाे बताउँछन्।
शर्माको नेतृत्वमा प्रभु बैंकले नयाँ मोड लिने अपेक्षा गरिएको छ। उनको अनुभव, क्षमता र सुशासनप्रतिको प्रतिबद्धताले बैंकलाई वर्तमान संकटबाट बाहिर निकाल्न सक्छ। तर, यो यात्रा सजिलो छैन।
प्रभु बैंकको पुनरुत्थान नेपाली बैंकिङ क्षेत्रका लागि एउटा केस स्टडी बन्नेछ - कि कसरी सही नेतृत्व र रणनीतिले संकटग्रस्त संस्थालाई पनि सफल बनाउन सक्छ। नेपालको बैंकिङ जगत अब सुमन शर्माको नेतृत्वमा प्रभु बैंकको नयाँ अध्यायको पर्खाइमा छ।