काठमाडौं। यातायात व्यवस्था विभागले पहिलो पटक इमर्जेन्सीबाहेकका साधारण सवारी लाइसेन्स छपाइका लागि सुरक्षण मुद्रण केन्द्रलाई २ लाख ‘बल्क डाटा’ पठाएको छ। यसअघि सुरक्षण मुद्रण केन्द्रसँग भएको सम्झौता अनुसार विभागले आपतकालीन (इमर्जेन्सी) लाइसेन्सका लागि मात्र डाटा पठाउँदै आएको थियो।
सवारी लाइसेन्स छपाइ जिम्मेवारी पाएको सुरक्षण मुद्रण केन्द्रले तीन महिने अवधिमा १९ हजार इमर्जेन्सी लाइसेन्स छापिसकेको छ। केन्द्रले गत कात्तिक २१ देखि क्यूआर कोडसहितको लाइसेन्स छपाइ सुरु गरेको हो। माघ १६ गतेसम्म १९ हजार थान लाइसेन्स छापिएर आएको यातायात व्यवस्था विभागका आईटी निर्देशक केशव खतिवडाले जानकारी दिए।
‘सुरक्षण मुद्रण केन्द्रसँग कात्तिक १२ गते भएको सम्झौता अनुसार पहिलो तीन महिनासम्म इमर्जेन्सी लाइसेन्स मात्र छाप्ने सम्झौता गरिएको थियो,’ निर्देशक खतिवडाले भने, ‘सो अवधिभित्र करिब १९ हजार बढी इमर्जेन्सी लाइसेन्स छपाइ भइसकेको र गत शुक्रबारसम्म सबै आवेदकको लाइसेन्स आइसकेको छ।’ पछिल्लो दुई तीन दिनका बाँकी डाटा पनि पठाउने तयारी भइरहेको उनको भनाइ छ।
केन्द्रबाट छपाइ भएका कार्डमा चिप्सको सट्टा क्यूआर कोड प्रयोग गरिएको छ। यसमा उच्च स्तरको सुरक्षा प्रणाली रहेका छन्। नयाँ कार्डमा ६ तहसम्म सुरक्षा प्रविधि प्रयोग हुनेछ। कार्डमा ३४ प्रकारका सुरक्षा विशेषता रहनेछन्
‘सम्झौताअनुसार केन्द्रले ६ महिनाभित्र १२ लाख लाइसेन्स प्रिन्ट गर्नुपर्ने सर्त छ,’ उनले भने, ‘सोहीअनुसार पहिलो तीन महिनामा इमर्जेन्सी १९ लाखभन्दा बढी छापिएको छ भने पहिलो पटक साधारण २ लाख ‘बल्क डाटा’ छपाइका लागि पठाइएको छ।’
उनका अनुसार लाइसेन्स छपाइमा ओभर हिटिङका कारण २७ जनाको कार्ड बिग्रिएको थियो। त्यसबाहेक १९ हजार इमर्जेन्सी लाइसेन्स छापिएर आएको छ। हाल प्रयोगमा रहेको मेसिनले एकैपटक ठूलो संख्यामा लाइसेन्स छाप्न सक्ने क्षमता राख्छ। सोही कारण समयमै सबै लाइसेन्स छापिने उनको भनाइ छ।
केन्द्रबाट छपाइ भएका कार्डमा चिप्सको सट्टा क्यूआर कोड प्रयोग गरिएको छ। यसमा उच्च स्तरको सुरक्षा प्रणाली रहेका छन्। नयाँ कार्डमा ६ तहसम्म सुरक्षा प्रविधि प्रयोग हुनेछ। कार्डमा ३४ प्रकारका सुरक्षा विशेषता रहनेछन् भने त्यसभित्र केही दृश्य र केही अदृश्य रहने बताइएको छ। केन्द्रले लाइसेन्सबाहेक हुलाक टिकट, नागरिकता, अन्तःशुल्क स्टिकर, लालपुर्जा र भिसा स्टिकर छपाइ गर्ने तयारी गरिरहेको छ।
लाइसेन्स छपाइमा ढिलाइ किन?
लाइसेन्स छपाइ प्रक्रिया ढिलो भएको गुनासो आए पनि निर्देशक खतिवडाले यसलाई सम्झौताअनुसार नै काम भएको दाबी गरेका छन्। लाइसेन्स छपाइका लागि आवश्यक कागज, मसी तथा अन्य सामग्रीको जोहो गर्न समय लाग्ने भएकाले तीन महिनासम्म इमर्जेन्सी मात्र छाप्ने सम्झौता भएकाले छपाइमा ढिलाइ भएजस्तो देखिएको हो।
२५ लाख कार्ड छाप्न करिब ५ किलोमिटर लामो कागज र ठूलो परिमाणमा मसी आवश्यक पर्छ। त्यो नेपालमा उपलब्ध छैन। त्यसका लागि सुरक्षण मुद्रण केन्द्रले पनि टेन्डर प्रक्रियामार्फत व्यवस्थापन गर्नुपर्नेछ।
यसअघि प्रयोग गरिने ‘चिप्स’ वाला मेसिनले एक–एक गरी कार्ड रिड गरेर छाप्दा एउटा कार्डका लागि करिब २ मिनेट लाग्ने गर्दथ्यो। तर, अहिले सुरक्षण मुद्रण केन्द्रमा रहेका नयाँ मेसिनले एकै पटकमा ५ वटासम्म कार्ड ‘झ्याप्पै’ छाप्न सक्ने क्षमता राख्दछन्। यसले गर्दा अबको छपाइ प्रक्रिया निकै छिटो हुने आईटी निर्देशक खतिवडाले बताए।
विभागको ‘मास प्रिन्टर’ जेनजी आन्दोलनका क्रममा तोडफोडपछि रोकिएको लाइसेन्स छपाइ उक्त केन्द्रबाट सुरु गरिएको हो। तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गत कात्तिक २१ गते केन्द्रमा रहेको प्रिन्टिङ प्रेसको बटन थिचेर लाइसेन्स छपाइको शुभारम्भ गरेका थिए।
लाइसेन्स छपाइका लागि केन्द्र र विभागबीच गत कात्तिक १२ गते सम्झौता भएको थियो। केन्द्रले ६ महिनाभित्र १२ लाख थान लाइसेन्स विभागलाई उपलब्ध गराउनुपर्ने जनाइएको छ। सरकारसँग २५ लाखभन्दा धेरै लाइसेन्स छाप्न बाँकी छ। त्योमध्ये विभागले १२ लाख थान छपाइ अघि बढाएको छ। तर, बाँकी १३ लाख कहिले छापिन्छ? टुंगो छैन।