काठमाडौं। बाजुराको हिमाली भेगमा हिउँ पर्न थालेपछि जाडो छल्न र चरिचरनका लागि अछामको बब्ला झारिएका भेँडाहरू अज्ञात रोगका कारण धमाधम मर्न थालेका छन्।
गत पुस महिनादेखि फैलिएको रोगका कारण हालसम्म तीन जना किसानका मात्रै करिब ८० भन्दा बढी भेँडा मरिसकेका छन्। कैयौँ भेँडाहरूले गर्भ तुहाएको छ। एक भेँडाको कम्तीमा ३० हजार बढी रुपैयाँ पर्छ। यसलाई आधार मान्ने हो भने २४ लाख बढी रकम किसानले घाटा बेहोरेका छन्।
बाजुराबाट अछाम झरेका किसान रविन सिंह, दसरथ महतार र धनबहादुर बुढाका चार सय बढी भेँडामध्ये दैनिक जसो भेँडा मरिरहेका छन्। मुख सुन्निने र नचर्ने, सिँगान बग्ने र छेर्ने, पिसाब रातो फेर्ने,पेट ढाडिने लक्षण रहेको किसान सिंहले बताए।
किसान सिंहका मात्रै करिब ३० देखि ४० वटा भेँडा मरिसकेका छन्। ‘मेरो मात्रै ५ देखि ६ लाखको क्षति भइसक्यो। हामी साना पुँजी भएका किसान मारमा परेका छौँ। यस्तै, भने अब झोला बुटुलेर घर फर्कनुको विकल्प छैन,’ उनीले भने।
रोगको प्रकोप बढेपछि अछामका पशु चिकित्सकले बिरामी भेँडाको निरीक्षण र उपचारको प्रयास गरेका थिए। चिकित्सक टोलीले भेँडाको रगत र दिसाको नमुना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाएइएको थियो। तर, शंका गरिएको रोग भने पत्ता लाग्न सकेको छैन।
किसानले भेँडा पालनका लागि फार्म दर्ता गरे पनि बिमा नगरेका कारण क्षतिपूर्तिको कुनै सुनिश्चितता छैन। लाखौँको लगानी डुबेपछि किसान मर्कामा छन्।
स्थानीय जनप्रतिनिधि र पशु सेवा कार्यालयले यस विषयमा थप गम्भीरता देखाउन र यथाशीघ्र रोग पहिचान गरी रोकथामका उपाय अपनाउन किसानले माग गरेका छन्।