काठमाडौं। निर्माणाधीन काठमाडौंको रिङरोड (चक्रपथ)अन्तर्गत तीन वटा आकासे पुलको भौतिक प्रगति एक दशकमा ८५ प्रतिशत मात्रै पूरा भएको छ। रिङरोडअन्तर्गत ललितपुरमा पर्ने महालक्ष्मीस्थान, सानेपा र बल्खुमा निर्माणाधीन आकासे पुलको हालसम्मको भौतिक प्रगति उक्त प्रतिशत सम्पन्न भएको हो।
आर्थिक वर्ष २०७३/७४ मा ठेक्का लागेका आकासे पुल २०७५ सालमै निर्माण कार्य सम्पन्न हुनुपर्ने थियो। सरकार र निर्माण व्यवसायीको लापरबाहीका कारण यी पुल आठ पटक म्याद थपिँदा पनि पूरा भएका छैनन्।
सडक विभागअन्तर्गतको काठमाडौं चक्रपथ सुधार योजनाका इन्जिनियर रामकुमार श्रेष्ठका अनुसार यस पटक असार मसान्तभित्रै निर्माणाधीन आकासे पुलको सबै काम सम्पन्न हुने दाबी गरे। ‘निर्माण व्यवसायीले असार २० सम्ममा काम सक्ने लिखित प्रतिबद्धता गरेका छन्। रेलिङ र अन्तिम फिनिसिङका काम मात्र बाँकी छन्। यस पटक पुल सर्वसाधारणका लागि खुल्छ,’ इन्जिनियर श्रेष्ठले भने।
निर्माणाधीन तीन वटै स्थानका पुलमा खम्बा र र्याम्पको काम पूरा भइसकेको छ। अहिले फ्याक्ट्रीमा रेलिङ वेल्डिङ गरी साइटमा जडान गर्ने काम भइरहेको उनले बताए। असार मसान्तको लक्ष्य पूरा हुने सम्भावना बलियो देखिएको आयोजनाले जनाएको छ।
इन्जिनियर श्रेष्ठले यति लामो समय निर्माणमा ढिलाइ हुनुको मुख्य कारण प्राविधिक रहेको बताए। सुरुमा स्वीकृत मूल डिजाइनमा समस्या देखिएपछि नयाँ डिजाइन तयार गरी स्वीकृत गराउन दुईदेखि तीन वर्ष लाग्यो।
नयाँ डिजाइनअनुसार यी पुल पूर्ण रूपमा अपांगमैत्री बनाइएका छन्। ह्विलचेयर प्रयोगकर्ताले सहजै प्रयोग गर्न मिल्ने गरी तयार पारिएको छ।
यस अवधिभर निर्माण कार्य ठप्प रह्यो। डिजाइन परिवर्तनपछि पनि निर्माणमा विविध अवरोध आउँदा महालक्ष्मीस्थानको पुलको म्याद ९ पटकसम्म र सानेपा तथा बल्खुको ८/८ पटकसम्म थपेको उनको भनाइ छ। उनले भने, ‘डिजाइनको विषय टुंगिएपछि काम सुचारु भयो। अहिले कुनै प्राविधिक अवरोध छैन। विगतको समस्या दोहोरिने अवस्था पनि छैन।’
नयाँ डिजाइनअनुसार यी पुल पूर्ण रूपमा अपांगमैत्री बनाइएका छन्। ह्विलचेयर प्रयोगकर्ताले सहजै प्रयोग गर्न मिल्ने गरी तयार पारिएको छ। तर, यसका लागि र्याम्पको भिरालोपन कम राख्नुपर्दा (जेन्टल स्लोप) पुलको समग्र लम्बाई बढेको र संरचना तुलनात्मक रूपमा खर्चिलो पनि परेको इन्जिनियर श्रेष्ठले बताए। ‘बाहिरको डिजाइन अध्ययन गरेर सुन्दरता ल्याउने र अपांगमैत्री बनाउने सोचले गर्दा यी पुल सामान्यभन्दा महँगा हुन पुगे,’ उनले भने।
ठेक्का सम्झौताअनुसार महालक्ष्मीस्थानको पुलको लागत चार करोड ६४ लाख, सानेपाको चार करोड ५६ लाख र बल्खुको चार करोड ६७ लाख आठ हजार रुपैयाँ रहेको छ। पुल निर्माण कार्य महर्जन पूर्णचण्डी जेभीलगायतका कम्पनीहरूले गरिरहेका छन्। आकासे पुल समयमा नबन्दा बल्खु, सानेपा र महालक्ष्मी स्थानमा पैदल यात्रुहरू व्यस्त चक्रपथमा जोखिम मोलेर सडक पार गर्न बाध्य छन्।