काठमाडौं। अछामको बाबलामा भेडामा ‘एन्टेरोटोक्सिमिया’ नामक रोग देखा परेको छ। काठमाडौंमा गरिएको प्रयोगशालाको परीक्षणमा यो रोग पुष्टि भएको हो।
रोग ब्याक्टेरियाबाट फैलिने र संक्रमित पशु केही दिनमै मर्न सक्ने खतरनाक रोग रहेको धनगढी भेटेरिनरी ल्याबका वरिष्ठ पशुचिकित्सक डा. नरेश जोशीले बताए। रोग पुष्टि भएसँगै पशु चिकित्सक टोली उपचारका लागि अछामको बाबला पुगेको छ। बाजुराको हिमाली भेगमा हिउँ पर्न थालेपछि जाडो छल्न र चरिचरनका लागि अछामको बाबला झारिएका भेँडाहरू सो रोग देखा परेको हो।
गत पुस महिनादेखि फैलिएको रोगका कारण हालसम्म तीन जना किसानका मात्रै करिब ८० भन्दा बढी भेँडा मरिसकेका छन्। कैयौँ भेँडाहरूले गर्भ तुहाएको छ। एक भेँडाको कम्तीमा ३० हजार बढी रुपैयाँ पर्छ। यसलाई आधार मान्ने हो भने २४ लाख बढी रकम किसानले घाटा बेहोरेका छन्।
बाजुराबाट अछाम झरेका किसान रविन सिंह, दसरथ महतार र धनबहादुर बुढाका चार सय बढी भेँडामध्ये दैनिक जसो भेँडा मरिरहेका छन्। मुख सुन्निने र नचर्ने, सिँगान बग्ने र छेर्ने, पिसाब रातो फेर्ने,पेट ढाडिने लक्षण रहेको किसान सिंहले बताए।
किसान सिंहका मात्रै करिब ३० देखि ४० वटा भेँडा मरिसकेका छन्। आजमात्रै उपचारका लागि पशु पशु चिकित्सक टोली आइपुगेको सिंहले बताए।
रोगको प्रारम्भिक कारण रूपमा बाजुराबाट आएका भेडाहरूको स्थान परिवर्तन र आहारमा आएको अचानक परिवर्तनलाई संकेत गरिएको छ। यसले पशुहरूमा स्ट्रेस बढाएर रोगको जोखिम बढाएको उनले बताए। ‘यो रोग देखिएपछि उपचार गाह्रो हुन्छ, पशु चाँडै मर्छ। प्रारम्भिक अवस्थामा एन्टिबायोटिक प्रयोग गरेर नियन्त्रण गर्न सकिन्छ, तर रोकथामका लागि खोप अनिवार्य छ।’ उनले भने।
हाल, ‘एन्टेरोटोक्सिमिया’ भ्याक्सिनको कभरेज निकै कम छ। धेरै किसानले यो खोप लगाएका छैनन्। उनका अनुसार, यो खोप नेपालमा उत्पादन नहुने भएकाले सरकारी निकायबाट उपलब्ध छैन। बजारमा खरिद गर्दा खोपको खासै मंहगो नपर्ने उनले बताए। उनले पशुहरुमा वार्षिक रुपमा दुई पटक लगाउन सुझाए। स्थानीय तह, प्रदेश, र संघीय निकायको समन्वयमा व्यापक खोप अभियान सुरु गर्नुपर्नेमा जोड दिएका छन्।