काठमाडौं। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी २०८२ फागुन २१ को प्रतिनिधिसभाको निर्वाचन तयारी अनुगमन कार्यक्रमका क्रममा बुधबार कास्की, पर्वत र म्याग्दीको स्थलगत अनुगमन भ्रमण गरेका छन्।
अर्थमन्त्रीले निर्वाचन तयारी सम्बन्धमा प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित चारवटै सुरक्षा प्रमुखबाट निर्वाचन तयारी, सुरक्षा प्रबन्ध, आचारसंहिता पालनाको अवस्थालगायतका विषयमा जानकारी लिएको अर्थ मन्त्रालयले जनाएको छ।
सो अवसरमा कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचन आचारसंहिता परिपालना स्तर सन्तोषजनक रहेको र कास्की जिल्लाका ५६ वटा मतदान केन्द्रलाई अति संवेदनशील मतदान केन्द्रका रुपमा राखिएको जानकारी अर्थ मन्त्रीलाई गराएकी थिइन्।
अर्थमन्त्रीबाट अनुगमनकै क्रममा जिल्ला निर्वाचन कार्यालयमा समेत स्थलगत भ्रमण गरी निर्वाचन तयारीको जानकारी लिएका थिए। सो क्रममा मुख्य निर्वाचन अधिकृत एवं १ नं निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत हिमलाल बेल्बासे, २ नं निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत निर्मला खड्का र ३ नं निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत सीता रेग्मी एवं प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले हालसम्मको निर्वाचन तयारी र अवस्थाबारेमा अर्थमन्त्रीलाई अवगत गराएका थिए।
निर्वाचन तयारी र आचारसंहिता पालनाको स्थलगत अनुगमनपछि अर्थमन्त्रीले निर्वाचनको तयारी सन्तोषजनक रुपमा अगाडि वढेको र स्थानीयस्तरमा राजनैतिक दलहरुले आन्तरिक विवाद मिलाउन सिर्जना गरेकोमा प्रशंसा गरेका थिए। यसैगरी पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले निर्वाचन आचारसंहिता परिपालनाको स्तर सन्तोषजनक रहेको र जिल्लाका ३५ वटा मतदान केन्द्रलाई अति संवेदनशील मतदान केन्द्रका रुपमा राखिएको जानकारी अर्थमन्त्रीलाई गराए।
अर्थमन्त्रीबाट अनुगमनकै क्रममा जिल्ला निर्वाचन कार्यालयमा समेत स्थलगत भ्रमण गरी निर्वाचन तयारीको जानकारी लिए। सो क्रममा मुख्य निर्वाचन अधिकृत वासुदेव पौडेल र जिल्ला निर्वाचन अधिकारी बुद्धिराम उपाध्यायले हालसम्मको निर्वाचन तयारी र अवस्थाबारेमा अर्थमन्त्रीलाई जानकारी गराए।
म्याग्दीको स्थलगत अनुगमन गर्ने क्रममा प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले निर्वाचन आचारसंहिता परिपालनाको स्तर सन्तोषजनक रहेको र जिल्लाका १५ वटा मतदान केन्द्रलाई अति संवेदनशील मतदान केन्द्रका रुपमा राखिएको जानकारी अर्थमन्त्रीलाई गराए।
अर्थमन्त्रीबाट अनुगमनकै क्रममा जिल्ला निर्वाचन कार्यालयमा समेत स्थलगत भ्रमण गरी निर्वाचन तयारीबारे जानकारी लिए। सो क्रममा मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा र जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले हालसम्मको निर्वाचन तयारी र अवस्थबारे अर्थमन्त्रीलाई अवगत गराएको मन्त्रालयले बताएको छ।
तीनवटै जिल्लाको निर्वाचन तयारी र आचारसंहिता पालनाको स्थलगत अनुगमनपछि अर्थमन्त्रीले निर्वाचनको तयारीका काम सन्तोषजनक रुपमा अगाडि वढेको, स्थानीय स्तरमा राजनीतिक दलबीच स्वच्छ र सिर्जनात्मक प्रतिस्पर्धाको वातावरण निर्माण भइरहेको आफूले अनुभूत गरेको जानकारी दिए।
निर्वाचनमा स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण निर्माणका लागि सरकार प्रतिबद्ध रहेको र सरोकारवाला सबैको सहयोग आवश्यक रहेको बताए।