काठमाडौं। नेपाली कांग्रेसले देशभरका १६५ निर्वाचन क्षेत्रमा मिडिया तथा सूचना प्रविधिको प्रभावकारी प्रयोगका लागि दक्ष जनशक्तिलाई स्वयंसेवकका रूपमा आह्वान गरेको छ।
पार्टीले जारी गरेको सूचनाअनुसार छायांकन, फोटोग्राफी, भिडियो सम्पादन, ग्राफिक डिजाइन तथा सामाजिक सञ्जाल व्यवस्थापनलगायतका क्षेत्रमा दक्ष व्यक्तिहरूबाट आवेदन माग गरिएको हो।
कांग्रेस महासमिति सदस्य अमृत ज्ञवालीले बदलिँदो राजनीतिक परिवेश र सूचना प्रविधिको बढ्दो प्रभावलाई ध्यानमा राख्दै यो पहल गरिएको जानकारी दिए। पछिल्लो समय विभिन्न माध्यमबाट प्रायोजित तथा भ्रमपूर्ण सूचनाहरू फैलिँदै गएको उल्लेख गर्दै उनले सही सूचना तल्लो तहसम्म र उम्मेदवारसँग प्रत्यक्ष रूपमा जोडिएर सम्प्रेषण गर्न स्वेच्छिक मिडिया टिम आवश्यक परेको बताए।
उनले भने,‘स्वेच्छिक रूपमा उम्मेदवारसँग जोडिएर तल्लो तहदेखि नै सही सूचना सम्प्रेषण होस् भन्ने हाम्रो उद्देश्य हो। पार्टीलाई सहयोग गर्ने क्षमता भएका व्यक्तिहरूले आफ्नो सीप देखाउन र एक्सपोजर पाउन सकून् भन्ने सोचका साथ यो आह्वान गरिएको हो।’
ज्ञवालीका अनुसार प्रारम्भिक योजना १६५ निर्वाचन क्षेत्रका लागि भए पनि आवश्यकताअनुसार सोभन्दा बढी स्वयंसेवकसमेत परिचालन गरिनेछ। सूचनापछि धेरैको चासो देखिएको र ठूलो संख्यामा फोन तथा सम्पर्कहरू आइरहेको उनले बताए।
“धेरैले चासो देखाउनुभएको छ। अब आवश्यक मापदण्डका आधारमा छनोट गरिनेछ। मुख्य उद्देश्य सही सूचना उम्मेदवार र जनतासम्म पुर्याउनु हो, जसले स्वस्थ प्रतिस्पर्धा सुनिश्चित गर्न सहयोग पुर्याउँछ,” उनले भने।
उनका अनुसार यो सेवा पूर्ण रूपमा स्वयंसेवकमा आधारित हुनेछ। आवश्यक स्रोतसाधनको सामान्य व्यवस्थापन गरिए पनि पार्टीले सेवा किन्ने नीति नलिएको उनले स्पष्ट पारे।