काठमाडौं।एनपीएलमा काठमाडौं कमेन्ट्री गर्न आएर नेपाली प्रशंसकको माया पाएका भारतीय क्रिकेट विश्लेषक आकाश चोपडाले भारतपछि आफूलाई नेपाल टिम मन पर्ने बताएका छन्।
भारतको मुम्बईस्थित वानखेडे मैदानमा उनले नेपाललाई ब्याटिङ र बलिङ गर्न गाह्रो हुन सक्ने बताए पनि टिममा धेरै अल राउन्डर रहेकाले बलियो पक्ष हुन सक्ने धारणा व्यक्त गरे। ‘तर, वानखेडेको रातो माटो पिचमा नेपाली खेलाडीलाई ब्याटिङ र बलिङ गर्न गाह्रो हुन सक्छ। यहाँको एक्स्ट्रा बाउन्स उनीहरूका लागि समस्या बन्न सक्छ’, सामाजिक सञ्जालमार्फत चोपडाले भनेका छन्।
‘नेपाली टोलीसँग ठूला टोलीसँग खेलेको अनुभव पनि छैन,’ चोपडाले थपेका छन्, ‘बंगलादेशको अनुपस्थितिले नेपाललाई केही फाइदा पुग्न सक्छ। नेपालले आफ्नो समूहमा ठूलो उलटफेर ल्याउने सम्भावना छ।’
भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने टी– २० विश्वकपको १०औं संस्करण फेब्रुअरी ७ देखि ८ मार्चसम्म हुँदै छ। प्रतियोगितामा नेपालसहित २० टोलीले सहभागिता जनाउँदै छन्, जसमा ११ टेस्ट तथा ९ एसोसिएट राष्ट्रिय रहेका छन्।
२० राष्ट्रलाई चारवटा समूहमा विभाजन गरिएको छ र एक समूहमा ५ टोली समावेश छन्। हरेक समूहबाट शीर्ष २ टोली सुपर ८ चरणमा पुग्नेछन्। कुल ५५ खेल हुने विश्वकप भारतका ५ तथा श्रीलंकाका ३ क्रिकेट मैदानमा सञ्चालन गरिनेछ।
विश्वकपमा नेपाल दुई पूर्वविजेता इंग्ल्यान्ड र वेस्ट इन्डिजसँगै इटाली र स्कटल्यान्ड सम्मिलित समूह ‘सी’मा छ। दुवै टोलीले २–२ पटक विश्वकप जितेका छन्। यसअघि यो समूहमा बंगलादेश रहे पनि सुरक्षा चिन्ताका कारण भारतमा खेल्न नमानेपछि आईसीसीले टोलीलाई हटाएर स्कटल्यान्डलाई खेलाउने निर्णय लिएको हो। इंग्ल्यान्ड र इटाली नेपालका लागि नयाँ प्रतिद्वन्द्वी हुन्।
नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रोपटक आईसीसी टी–२० विश्वकप खेल्दै छ। यसअघि सन् २०१४ र २०२४ को विश्वकप खेलेको नेपालले समूह चरण पनि पार गर्न सकेन।
नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दै विश्वकपको सुरुवात गर्नेछ । यसैगरी नेपालले फेब्रुअरी १२ मा पहिलोपटक विश्वकप खेल्न लागेको इटाली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज र फेब्रुअरी १७ मा स्कटल्यान्डको सामना गर्नेछ। इंग्ल्यान्ड र इटाली नेपालका लागि नयाँ प्रतिद्वन्द्वी हुन्।
यसैगरी चोपडाले इंग्ल्यान्डविरुद्धको खेलका लागि आफ्नो प्लेइनिङ– ११ पनि सर्वाजनिक गरेका छन्।
यस्तो छ चोपडाको प्लेइनिङ– ११
रोहितकुमार पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, लोकेश बम, आरिफ शेख, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, गुल्शनकुमार झा।