काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)लाई विशेष प्राथमिकता दिइएको छ। देशकै ठूलो पार्टी रास्वपाको अधिवेशनमा डीडीसीले प्राथमिकता पाएको हो।
हाल नेपालमा औपचारिक क्षेत्रमा दर्ता भएका ठूला डेरी उद्योगहरू करिब एक सयको संख्यामा सञ्चालित छन्। त्यस्तै, मझौला, साना र घरेलु स्तरका उद्योगहरूसमेत समेट्दा नेपालमा कुल डेरी उद्योगहरूको संख्या ५ हजारभन्दा बढी छ।
तर, रास्वपाको महाधिवेशनमा डीडीसीका उत्पादनको मात्र विशेष स्थान पाएको छ। पार्टीको महाधिवेशनमा उपस्थित अतिथिहरूलाई डीडीसीको उत्पादन वितरण गरिएको थियो। यस्तै, सहभागी प्रतिनिधिहरूले पनि डीडीसीको उत्पादन किन्न उत्सुक भएका थिए।
यसअघि रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले डीडीसीका उत्पादन प्रयोग गर्न सार्वजनिक रूपमा आह्वान गरेका थिए। साथै, उनको निर्देशनमा मन्त्रिपरिषद्को बैठकमा समेत डीडीसीको उत्पादन वितरण गरिएको थियो। यस क्रममा गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि देशकै ठूलो दल बनेको रास्वपाको महाधिवेशनमा पनि डीडीसीले महत्वपूर्ण स्थान पाउँदा अरू दुग्ध उत्पादनको उपस्थित न्यून रहेको थियो।

अहिले भइरहेको डीडीसीको प्रचार एकदमै राम्रो भएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष (मोही अभिन्ता) प्रल्हाद दाहाल बताउँछन्। राजनीतिक दलका कार्यक्रममा स्वदेशी उत्पादनले विशेष प्राथमिकता पाउनुलाई सकारात्मक रुपमा हेर्नुपर्ने उनको भनाइ थियो।
‘मैले केही वर्षअघि नेपालमा मोही सेवनलाई एउटा अभियानका रूपमा सुरु गरेको थिएँ,’ अध्यक्ष दाहालले भने, ‘आज यसरी राजनीतिक दलको कार्यक्रममा मोहीलाई स्थान दिएका छन्। यसले हामीले सुरु गरेको अभियानलाई सार्थकता दिएको छ। हामी अत्यन्त खुसी छौँ।’ डीडीसीलाई सरकार र राजनीतिक दलहरूले ‘अतिरिक्त प्राथमिकता’ दिएको जस्तो देखिए पनि यसले समग्र डेरी क्षेत्रलाई फाइदा पुग्ने उनको भनाइ थियो।
उनका अनुसार ठूला कार्यक्रममा हुने प्रवद्र्धनले कुनै एउटा ब्रान्डलाई मात्र नभई समग्र उद्योगलाई फाइदा पु¥याउँछ। ‘यसले विशेष गरी डेरी प्रोडक्टको बजार प्रवद्र्धन गरेको छ। डीडीसी सबै ठाउँमा उपलब्ध छैन, त्यसैले दूध–मोहीको बानी परेका उपभोक्ताहरू भोलि ती उत्पादन खोज्दै निजी डेरीमा आउँछन्। यसलाई सकारात्मक रूपमा लिनुपर्छ,’ डीडीसीप्रतिको बढ्दो आकर्षणले समग्र डेरी उत्पादनप्रतिको उपभोक्ताको विश्वास बढाउने विश्वास व्यक्त गरे।
उनका अनुसार विज्ञापन कुनै एउटा कम्पनीको मात्र हुँदैन। डेरी उत्पादनको प्रवद्र्धन हुन्छ। डीडीसी सबै ठाउँमा उपलब्ध नभएकाले उपभोक्ताले अन्य निजी डेरीका उत्पादन पनि प्रयोग गर्छन्। यसलाई सकारात्मक रूपमा लिनुपर्ने तर्क उनले गरे।

‘सरकारले आफ्नो उद्योगलाई प्रमोट गर्नु नराम्रो होइन। तर त्यससँगै निजी क्षेत्रलाई पनि सँगै लैजानुपर्छ। डीडीसी मात्रै होइन, समग्र डेरी उद्योगको विकासमा सरकारले ध्यान दिनुपर्छ,’ उनले भने।
स्टलदेखि स्टेजसम्म प्रचार
महाधिवेशनको उद्घाटन सत्रमा स्टेजमा देखिएको डीडीसीको उत्पादनको दृष्यले पनि सबैको ध्यान तानेको थियो। अधिवेशनमा डीडीसीको मात्र स्टल राखिएकाले निजी डेरी उद्योगहरू सञ्चालनमा रहेको अवस्थामा एउटै सरकारी संस्थालाई मात्र स्थान दिनु प्रतिस्पर्धात्मक बजारको सिद्धान्तअनुकूल नभएको भन्दै आलोचना पनि भइरहेको छ।
बढ्दो गर्मीका बीच अधिवेशन स्थलमा राखिएको डीडीसीको स्टलमा दही, मोही, फ्रेस मिल्क र आइसक्रिमलगायतका उत्पादन खाने उपभोक्ता र कार्यकर्ताको निकै ठूलो भिड लागेको छ। सहभागी पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुक गर्मीमा तिर्खा मेटाउन मोही पिउँदै छन्।

गर्मी मौसम भएकाले अहिले स्टलमा दही र मोहीको माग अत्यधिक रहेको छ। डीडीसीले दही, मोहीका साथै आइसक्रिम, घिउ र बटर जस्ता १५-२० वटा उत्पादनहरू प्रदर्शनी तथा बिक्रीका लागि राखेको छ। उपभोक्ता आकर्षित गर्न डीडीसीले उत्पादन हेरी ५ देखि १० प्रतिशतसम्म छुटको व्यवस्थासमेत गरेको छ। जसका कारण स्टलमा दही, मोही, फ्रेस मिल्क र आइसक्रिम लगायतका उत्पादन खाने उपभोक्ता र कार्यकर्ताहरूको निकै ठूलो भिड लागेको छ।
रास्वपाको महाधिवेशनमा आफ्नो हिसाबले स्टल राखेको डीडीसीका महाप्रबन्धक सरन पान्डे बताउँछन्। ‘महाधिवेशनमा हामी आफ्नो खुसीले स्टल राख्न गएको हो। स्टलमा आउने उपभोक्ताका लागि हामीले उत्पादन हेरेर ५ देखि १० प्रतिशतसम्मको विशेष छुटको व्यवस्था गरेका छौं,’ महाप्रबन्धक पान्डे भन्छन्, ‘हामीसँग १५/२० वटा उत्पादनहरू भए पनि हालको गर्मी मौसमलाई ध्यानमा राख्दै विशेष गरी दही, मही, फ्रेस मिल्क र आइसक्रिमलाई प्राथमिकताका साथ राखेका छौँ।’ योबाहेक घिउ र बटरलगायतका उत्पादन पनि उपलब्ध रहेको उनको भनाइ छ।

उनका अनुसार महाधिवेशन स्थलमा स्टल डीडीसीकै कर्मचारीले सञ्चालन गरिरहेका छन्। चौरमा स्टल राखेकाले कुनै पनि भाडा तिर्नु पर्दैन। संस्थाको उद्देश्य उत्पादन उपभोक्तासम्म पुर्याउनु र बिक्री प्रवर्द्धन गर्नु हो।

