काठमाडौं । चालु आर्थिक वर्षमा बिजुली आयात आधा घटेको छ । विद्युत आयात घटेर कुल आपूर्तिको १८ प्रतिशतमा झरेको छ । गत वर्षसम्म कुल आपूर्तिको ३५ प्रतिशतसम्म भारतीय बिजुलीको योगदान रहेको थियो ।
यो वर्षदेखि बिजुली आयातमा कमी आएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका हुन । उनले यो वर्षदेखि भारतमा १ अर्ब रुपैयाँ बराबरको बिजुली निकासी भएको सुनाए ।
कोरोना भाइरस संक्रमण रोक्न सरकारले जारी गरेको बन्दावन्दी (लकडाउन) आदेशपछि बिजुली आयातमा भारी गिरावट आएको छ । हाल १५३ मेगावापट हारहारीमा मात्र बिजुली भारतबाट आएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
देशभित्रै विद्युत उत्पादनको क्षमतामा क्रमश वृद्धि भइरहेको देखिएको छ । लोडसेडिङ हटाउन विद्युत प्राधिकरणले भारतबाट ६०० मेगावाटसम्म बिजुली आयात गरेको थियो । गत वर्ष भारतबाट झण्डै २५ अर्ब रुपैयाँ बराबरको बिजुली आयात भएको थियो ।
चालु आर्थिक वर्ष २०७६ ०७७ को ६ महिनामा भारतबाट विद्युतको आयात घटेर ६ अर्ब ६१ करोड रुपैयाँ सीमित भएको छ । नेपालभित्रै विद्युत उत्पादनको क्षमतामा वृद्धि भइरहेको देखाउँछ ।
गत वर्ष ६ महिनामा ९ अर्ब रुपैयाँ बराबरको बिजुली भारतबाट आयात भएको थियो । यस्तै अघिल्लो वर्ष २१ अर्ब ३१ करोड रुपैयाँको बिजुली आयात भएको थियो ।
लकडाउन सुरु भएपछि बढी विद्युत खपत गर्ने कलकारखाना, होटल, व्यापारिक भवन, कार्यालयहरु बन्द हुँदा विद्युतको माग ह्वातै घटेको हो ।
विद्युत लोडमा मुख्य रुपमा कलकारखाना, होटललगायतको ठुलो योगदान रहेको छ । अहिले घरायसी प्रयोजनका लागि मात्रै विद्युतको प्रयोग भएपछि यसको प्रभाव मागमा परेको हो ।
लकडाउनले बिजुली आयात धेरै घटाउने देखिएको छ । माग कम भएपछि अधिकाँश आयोजना रातीको समयमा बन्द हुने गरेको छ । विद्युतगृह बन्द भएपछि पानी खेर गएको छ ।