काठमाडौं। यो साता सेयर बजारमा उतारचढाव देखिएको छ। साता कारोबारको पहिलो दिन आइतबार बढेको नेप्से त्यसयता घटबढ भई अन्तिम दिन बिहीबार दोहोरो अंकले बढेको थियो।
यो साता पुँजी बजारमा ४५ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको ११ करोड ५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। गत साताको तुलनामा यो साता कुल कारोबार रकम करिब ३६ प्रतिशत र कुल कारोबार कित्ता २९ प्रतिशतभन्दा बढीले घटेको हो।
गत साता ७० अर्ब ३६ करोड ५७ लाख रुपैयाँभन्दा बढीको १५ करोड ६५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको थियो । गत साता औषतमा १४ अर्ब ७ करोड रुपैयाँभन्दा बढीको ३ करोड १३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएकामा यो साता औसतमा ९ अर्ब ९५ लाख रुपैयाँभन्दा बढीको २ करोड २१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको हो।
नेप्से यो साता स्थिर रह्यो। गत साताको अन्तिम कारोबार दिन २ हजार ७१४ दशमलव शून्य ५ बिन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ७०८ दशमलव ७० विन्दुमा बन्द भएको हो। गत साताभन्दा यो साता नेप्से परिसूचक ५ दशमलव ३५ अंकले घटेको हो।
गत साताभन्दा यो साता कुल बजार पुँजीकरण ८ अर्ब ९८ करोड रुपैयाँ बढीले घटेको छ। यो साता होटल तथा पर्यटन समूहका लगानीकर्ताको आकर्षण देखिएको छ। गत साताको तुलनामा यो साता होटल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २ दशमलव १९ प्रतिशत बढेको छ।
निर्जीवन बिमाको १ दशमलव ३१ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव २६ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ६१ प्रतिशत, विकास बैंकको शून्य दशमलव ३९ प्रतिशत र व्यापारिकको शून्य दशमलव १२ प्रतिशत परिसूचक बढेको हो।
यो साता वित्त समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त समूहको परिसूचक १ दशमलव शून्य ३ प्रतिशत घटेको छ।