काठमाडौं। आगामी फागुन २१ म हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल–भारत सीमानाका ७२ घन्टाअगावै बन्द गरिने भएको छ । मोरङको विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र भारत सशस्त्र सीमा बलबीचको १६औं डीआईजी समन्वय बैठकले सो निर्णय गरेको सशस्त्र प्रहरीका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए।
बैठकमा सीमा सुरक्षा, सूचनाको आदान–प्रदान, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागूऔषध ओसारपसार नियन्त्रणलगायत विषयमा छलफल भएको थियो।
समन्वय बैठकमा सीमास्तम्भको संरक्षण, यात्रु सहजीकरण, संयुक्त गस्ती, विपद् उद्धार अभ्यास तथा आपसी खेलकुद गतिविधि सञ्चालन गर्ने विषयमा समेत दुवै पक्षबीच छलफल भएको सशस्त्र प्रहरीले जनाएको छ।
सीमा क्षेत्रका सम्भावित नाका पहिचान गरी त्यसबाट हुन सक्ने खतरा मूल्यांकन गर्ने, शरणार्थी र आप्रवासीको गतिविधिउपर निगरानी राख्ने, विभिन्न तह बनाई नियमित चेकजाँच गर्न दुवै पक्षबीच सहमति भएको छ।
बैठकमा आपराधिक तत्त्वबाट हुनसक्ने घुसपैठ कडाइका साथ नियन्त्रण गर्ने, सीमाक्षेत्रमा मादक पदार्थ विक्री वितरण र सेवनमा पूर्णतः बन्देज गर्नेलगायत विषयमा समेत छलफल भएको सशस्त्र प्रहरीले जनाएको छ।
बैठकमा सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले सीमा केवल दुई देशबीचको रेखा नभई मित्रताको प्रतीक भएको उल्लेख गरे।
समकक्षी भारतीय सशस्त्र सीमा बलका डीआईजी सरोजकुमार ठाकुरले नेपाल–भारत सीमा क्षेत्रलाई आगामी दिनमा अझ मजबुत र बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे।
बैठकमा सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोख्रेल, दीपेन्द्र शाह, कृष्ण ढकाल र मनिष थापा तथा भारतीय एसएसबीको तर्फबाट डीआईजी ठाकुर, मञ्जित सिंह, सुरेश सुब्रमनिम, राजेश टिक्कु र मनिष कुमारको समेत उपस्थिति थियो।–रासस