काठमाडौं। आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन तयारी अनुगमन कार्यक्रमका क्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले रुकुम पश्चिम तथा जाजरकोटको स्थलगत अनुगमन भ्रमण गरेका छन्।
जिल्लाको निर्वाचन तयारीका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी सहित जिल्ला स्थित चारवटै सुरक्षा प्रमुखबाट निर्वाचन तयारी, सुरक्षा प्रवन्ध, आचारसंहिता पालनाको अवस्था लगायतका विषयमा जानकारी लिए।
सो अवसरमा रूकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले निर्वाचन आचारसंहिता परिपालनाको स्तर सन्तोषजनक रहेको र २१ वटा मतदान स्थललाई अति संवेदनशीलमा राखिएको जानकारी अर्थमन्त्रीलाई गराए। अर्थमन्त्रीबाट अनुगमनकै क्रममा जिल्ला निर्वाचन कार्यालयमा समेत स्थलगत भ्रमण गरी निर्वाचन तयारी अवस्थाको जानकारी लिए।
सो क्रममा मुख्य निर्वाचन अधिकृत दीपेन्द्र थापा मगर र जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसीसँग छलफल गरी हालसम्मको निर्वाचन तयारी र अवस्थाबारे जानकारी लिएको अर्थ मन्त्रालयले बताएको छ।
त्यसैगरी जाजरकोटको स्थलगत अनुगमन गर्ने क्रममा जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले आचारसंहिता परिपालनाको स्तर सन्तोषजनक रहेको र १६ वटा मतदान केन्द्रलाई अति संवेदनशीलमा वर्गीकरण गरिएको जानकारी अर्थमन्त्रीलाई गराए।
अर्थमन्त्रीबाट अनुगमनकै क्रममा जिल्ला निर्वाचन कार्यालयमा समेत स्थलगत भ्रमण गरी निर्वाचन तयारी जानकारी लिए। सो अवसरमा मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद खनाल र जिल्ला निर्वाचन अधिकारी रामलाल प्याकुरेलले हालसम्मको निर्वाचन तयारी अवस्थाबारेमा अर्थमन्त्रीलाई अवगत गराएका थिए।
दुवै जिल्लामा निर्वाचन तयारी र आचारसंहिता पालना स्थितिको स्थलगत अनुगमनपछि अर्थमन्त्रीले निर्वाचनको तयारी सन्तोषजनक रुपमा अगाडि बढेको, स्थानीयस्तरमा राजनीतिक दल र उम्मेदवारबीच स्वच्छ प्रतिस्पर्धाको वातावरण निर्माण भएको र आममतदाताले भयरहित रुपमा निर्वाचनमा सहभागि हुन पाउने अवस्था रहेको बताए।