काठमाडौं। आजदेखि विश्व क्रिकेटको महाकुम्भ आईसीसी टी–२० विश्वकप भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदै छ।यसपटकको विश्वकपमा ५५ खेल खेलाइने तालिका आईसीसीले सार्वजनिक गरेको छ।
यसपटकको विश्वकपमा नेपाल समूह ‘सी’ मा छ। यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली रहेका छन्।
भारतका पाँच सहरका पाँच स्टेडियम र श्रीलंकाको दुई सहरका तीन मैदानमा विश्वकपका खेल हुनेछन्। भारत र श्रीलंका आयोजक रहने विश्वकपको पहिलो खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा हुँदै छ।
शनिबार बेलुकी सवा ७ बजे आयोजक भारत र अमेरिकाबीच पहिलो उद्घाटन खेल हुने कार्यतालिका तय छ। खेल सुरु हुनुअघि वानखेडे स्टेडियममा संगीत र संस्कृति झल्काउने नृत्यसहितको विशेष प्रस्तुत आयोजना गर्दै विश्वकपको ट्रफी मैदानमा भित्र्याइनेछ। समारोहको सुरुआत ऋषभ शर्मा र शिवमणिको सांगीतिक प्रस्तुतिबाट हुनेछ।
आईसीसी अध्यक्ष जय शाह र भारतलाई सन् २०२४ मा विश्वकप जिताएका पूर्वभारतीय कप्तान रोहित शर्माले ट्रफीको स्वागत गर्नेछन्।
नेपालले पहिलो खेल इंग्ल्यान्डसँग माघ २५ खेल्नेछ। अन्तिम खेल स्कटल्यान्डसँग फागुन ५ मा हुनेछ। नेपालका चारै खेलमा मुम्बईमा हुनेछन्। समूहमा शीर्ष दुईमा परे सुपर–८ मा पुग्ने सम्भावना हुनेछ।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम रहेका छन्।
भारतको अहमावादस्थित नरेन्द्र मोदी स्टेडियम, कोलकताको इडेन गार्डेन, दिल्लीको अरुण जेट्ली स्टेडियम, मुम्बईको वानखेडे स्टेडियम र चेन्नाईको एमए चिदम्बरम स्टेडियममा विश्वकपका खेल हुनेछन्। विश्वकपमा नेपालले समूह चरणका आफ्ना सबै चार खेल वानखेडे स्टेडियममा खेल्नेछ।
श्रीलंकाको कोलम्बोस्थित आर.प्रेमादसा स्टेडियम र एसएससी क्रिकेट मैदानमा र क्यान्डीको पालकेले क्रिकेट स्टेडियममा विश्वकपका खेल हुनेछन्। विश्वकपको पहिलो दिन आज तीन खेल हुने तालिका छ।
श्रीलंकाको कोलम्बोस्थित एसएससी मैदानमा पाकिस्तान र नेदरल्यान्ड्सबीच उद्घाटन खेल बिहान सवा ११ बजे सुरु हुनेछ। भारतमा भने दुई खेल हुनेछन्। कोलकताको इडेन गार्डेनमा समूहसीका स्कटल्यान्ड र वेष्ट इन्डिज खेल्ने तालिका छ। यो नेपाल रहेको समूह हो।
वेस्ट इन्डिजले दुई पटक विश्ककपको उपाधि उचालिसकेको छ। स्टकल्यान्ड अन्तिम समयमा विश्वकपमा प्रवेश गर्ने भाग्यमानी टोली हो।
सुरक्षाका कारण देखाउँदै बंगलादेशले भारत भ्रमण गर्न अस्वीकार गरेपछि आईसीसीले वरीयताको आधारमा स्कटल्यान्डलाई मौका दिएको हो। यो खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ। नेपालले भने आइतबार दुई पटकको च्याम्पियन इङल्यान्डसँग खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ।
विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह चरणका खेलपछि शीर्ष दुई टोलीले सुपर ८ मा स्थान बनाउनेछन्।
सुपर ८ का खेल फेब्रुअरी २२ देखि सुरु हुनेछ। सुपर ८ का शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन्। पहिलो सेमिफाइनल मार्च ४ र दोस्रो सेमिफाइनल मार्च ५ मा हुनेछ। फाइनल खेल मार्च ८ मा हुने तालिका छ।