काठमाडौं । उपत्यकामा कोरोना भाइरस संक्रमण देखिएको भन्दै सरकारले लकडाउनलाई कडाई गरे पनि बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना कर्मचारीलाई जसरी पनि कार्यालयमा आउन उर्दी जारी गरेका छन् ।
यसअघि सरकारलाई केही खुकुलो बनाई एक तिहाई कर्मचारीले कार्यलय सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, बैंक तथा वित्तीय संस्थाहरुले सबै कर्मचारीलाई बोलाएर काम लगाइरहेका थिए ।
जेठ १ (आज) देखि बैंक तथा वित्तीय संस्थाको सेवामा पनि थप कडाइ गर्दै राष्ट्र बैंकले सीमित पास उपलब्ध गराएको अवस्थामा कार्यालयको काम कारबाही प्रभावभित भएको भन्दै वित्तीय संस्थाका कर्मचारीहरुलाई अनिवार्य रुपमा कार्यालयमा आउन र नियमित काम गर्न व्यवस्थापनले निर्देशन दिएको छ ।
कर्मचारीहरु भने पास नभएको अवस्थामा कसरी कार्यालय जाने भनेर विलखबन्दमा परेका छन् । केन्द्रीय बैंकले जेठ १ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि बाणिज्य बैंकलाई २०, विकास बैंकलाई १०, वित्त कम्पनीलाई ८ र लघुवित्त वित्तीय संस्थालाई जम्मा पाँच ओटा मात्रै पास उपलब्ध गराएको छ ।
कोरोनाका कारण बैंकका कर्मचारीको ज्यान गए, सीईओ जेल जानुपर्ने
बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित उच्च तहका कर्मचारीहरुले राष्ट्र बैंकले दिएको पास प्रयोग गरे पनि तल्लो तहका कर्मचारीलाई भने जवरजस्ती कार्यालय आउन निर्देशन दिएको छ ।
लिखित निर्देशन दिँदा सार्वजनिक सञ्चार माध्यममा आउन सक्ने डरले व्यवस्थापनले फोन मार्फत शाखा प्रखुमलाई जसरी पनि कार्यालय आउन र मातहका कर्मचारीलाई बोलाएर काममा लगाउन निर्देशन दिएको छ । कर्मचारीलाई स्थान हेरेर कार्यालयमा आउन बैंकले भनेको छ ।
राष्ट्र बैंकका प्रवत्ता डा. गुणाकर भट्टले केन्द्रीय बैंकले जारी गरेको पासले कति शाखा खोल्न मिल्छ, त्यति मात्रै सञ्चालन गरेर ग्राहकलाई सेवा दिनुपर्ने बताए । स्वास्थ्य स्थितिलाई हेरेर केन्द्रीय बैंकले अति कम कर्मचारी राखेर सेवा देओस्, भनेर यस्तो गरिएको उनको भनाइ छ ।
बैंहरुले बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म कार्यालय खोल्दै आएका छन् । विशेषगरी निक्षेप राख्ने र झिक्ने, ऋणको साँवा ब्याजको किस्ता बुझाउने, अत्यावश्यक प्रतितपत्र खोल्ने, अत्यावश्कीय क्षेत्रमा ऋण माग गर्नेहरु बैंकमा पुग्ने गर्छन् । तिनीहरुलाई सेवा दिनु बैंक तथा वित्तीय दायित्व पनि हो ।
हिमालयन बैंकका सीइओ अशोकशम्शेर राणाले पास नभएकाले सबैलाई हाजिर हुन आउन नभनेको बताए । उनले पहिला ३३ प्रतिशत भनियो अहिले २० ओटा मात्र पास दिएकाले समस्या आएको जानकारी दिए । केही बैंकहरुले अनिवार्य आउन कर्मचारीलाई भनेको जानकारी पाएको राणाले बताए ।
त्यसमाथि चालू आर्थिक वर्षको अन्तिम त्रैमास भएकाले चैतदेखि नै उठ्नुपर्ने ऋणको साँवा ब्याज किस्ता उठाउने प्रयोजनका लागि पनि बैंकहरु खुला राख्नुपर्ने अवस्था छ ।
कतिपय बैंकले आलोपालो गरेर शाखा खोल्ने जानकारी गराएका छन् । तर, आलोपालो गर्दा ग्राहकहरुले जानकारी नपाउने र त्यसबाट ग्राहले झनै दुःख पाउने अवस्था पनि आएको छ ।
ग्राहकको अझै पनि बैंकमा भीड छ । सरकारले तोकेको समय भन्दा पछिसम्म शाखा खोलेर बैंकहरुले सेवा दिइरहेका छन । देशभरी बैंक तथा वित्तीय संस्थाका ५ हजार ६७१ ओटा शाखा छन ।