काठमाडौं । लकडाउनको अवधिमा शाखा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले समान पास नीति अख्तियार गर्दा अधिकांश बैंक तथा वित्तीय संस्था समस्यामा परेका छन् ।
कोरोना भाइरसका कारण सरकारले लकडाउनमा थप कडाई गरेपछि बैंक तथा वित्तीय संस्थाले आफ्ना कार्यालय खोल्न समस्या भोग्न थालेका हुन् । यद्यपि, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सीमित पास उपलब्ध गराएको छ ।
राष्ट्र बैंकले उपलब्ध गराएको पासले काठमाडौं उपत्यका भित्र थोरै शाखा हुने बैंक तथा वित्तीय संस्थाको कारोबारमा सहजता हुने देखिन्छ भने धेरै शाखा भएका संस्थाहरु सञ्चालनमा कठीनाई देखिएको छ । सोहि कारण कतिपय बैंक तथा वित्तीय संस्थाले पास नभए पनि आफ्ना कर्मचारीलाई कार्यालयमा आउन निर्देशन दिएका छन् ।
राष्ट्र बैंकले उपत्यकाका लागि वाणिज्य बैंकलाई २०, विकास बैंकलाई १०, वित्त कम्पनीलाई ८ र लघुवित्तलाई ५ ओटा पास दिएको छ । वाणिज्य बैंककै कुरा गर्दा उपत्यकामा २० भन्दा कम शाखा भएका पाँच बाणिज्य बैंकहरु छन् । स्ट्याडर्ड चार्टर्डका पाँच, एभरेष्ट ७, सेन्चुरी १३, सानिमा १९ र हिमालयन बैंकका १८ ओटा मात्रै शाखा छन् । यी बैंकलाई पनि २० ओटै पास उपलब्ध गराइएको छ । तर, एनआईसी एसिया ८०, ग्लोबल आईएमई र प्रभू बैंकको ५६/५६ ओटा शाखा छन् । ती बैंकलाई पनि २० ओटै पास छ ।
कोरोना कहरमा बैंकका कर्मचारीलाई सास्ती, पास नभए पनि कार्यालय आउन उर्दी
केन्द्रीय बैंकले समान रुपमा पास उपलब्ध गराउँदा बढी शाखा भएका बैंकलाई अत्यधिक समस्या भएको एक बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए । ‘५ ओटा शाखा हुने बैंकलाई पनि २० पास, ८० ओटा शाखा हुनेलाई पनि २० ओटा पास दिइएको छ’ ती प्रमुख कार्यकारी अधिकृतले भने, ‘शाखा कम हुनेलाई थोरै पास दिएर बढी शाखा हुनेलाई बढी पास दिँदा सेवाग्राहीले बढी फाइदा पाउने थिए । राष्ट्र बैंकबाट कम पास पाउँदा बढी सेवाग्राहीलाई सेवा दिन सकिएको छैन् ।’
बैंक तथा वित्तीय संस्थाले आलोपालो गरेर शाखा चलाउँदा पनि बढी शाखा हुनेले बढी खोल्नुपर्छ भने कम शाखा हुनेले कम शाखा खोल्दा पुग्छ । कम शाखा हुने बैंकका ग्राहक पनि कम नै हुन्छन् र ती स्थानीय स्तरसम्म पुगेका हुँदैनन् । बढी शाखा भएका बैंक तथा वित्तीय संस्था गाउँ गाउँसम्म पुगेकाले पनि उनीहरुलाई बढी सेवा आवश्यक पर्छ ।
कोरोनाका कारण बैंकका कर्मचारीको ज्यान गए, सीईओ जेल जानुपर्ने
अहिले एनआईबीएललगायत केही बैंकले २० ओटा पासबाट अधिकतम शाखा खोलेर सेवाग्राहीलाई सेवा दिइरहेका छन् । एनआईबीएलले १३ ओटा शाखा खोलेर सेवा दिएको हो ।
बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार बैंकको शाखा हेरेर पास उपलब्ध गराइएको होइन् । ‘त्यो साध्य पनि हुँदैन्,’ ढकालले भने, ‘बाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्तलाई वर्गीकरण गरेर पास दिइएको हो ।’