काठमाडाैं। नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बिमालाई ‘राष्ट्रिय गौरवको आयोजना’ का रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। आइतबार एक भिडियो वक्तव्य जारी गर्दै उनले स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्ने निर्विकल्प उपाय बिमा नै भएको दाबी गर्दै कांग्रेसले सरकारको नेतृत्व लिँदा यसलाई उच्च प्राथमिकतामा राख्ने बताएका हुन्।
‘नेपाली कांग्रेस पार्टीका तर्फबाट यो प्रतिबद्धता हो,’ सभापति थापाले भने,‘हामीले जिम्मेवारी पाउँदा स्वास्थ्य बीमाको कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउँछौँ।’
आफ्नो स्वास्थ्यमन्त्री कालमा स्वास्थ्य बिमाको अवधारणा र कानुन निर्माण गरेको स्मरण गर्दै उनले उपचारका क्रममा नागरिकले घरखेत बेच्नुपर्ने र पुनः गरिबीको दुष्चक्रमा फस्नुपर्ने अवस्था अन्त्य गर्न सो कार्यक्रम ल्याइएको स्पष्ट पारे। उनले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नागरिकले स्वास्थ्यमा गर्ने व्यक्तिगत खर्च २० प्रतिशतमा झार्नुपर्नेमा अहिले पनि ५७ प्रतिशत व्ययभार नागरिककै थाप्लोमा रहेकोमा चिन्ता व्यक्त गरे।
बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन उनले चारवटा योजना अघि सारेका छन्। पहिलो चरणमा औपचारिक क्षेत्रबाट बीमा सुरु गरी रक्सी र चुरोट जस्ता हानिकारक वस्तुमा कर लगाएर त्यसको रकम बिमा कोषमा जम्मा गरिनेछ। दोस्रो योजना अन्तर्गत हाल छरिएर रहेका स्वास्थ्यका सबै कार्यक्रमहरूलाई एकीकृत गरी बीमाको दायरामा ल्याइनेछ। तेस्रोमा तीनै तहका सरकारको भूमिकालाई प्रणालीगत रूपमा जोडिनेछ भने चौथो योजनामा प्रविधिमैत्री सुशासन (रियल टाइम डिजिटलाइजेसन) मार्फत चुहावट रोक्ने र बिमा बोर्डलाई बलियो बनाउने थापाको योजना छ।
अहिले स्वास्थ्य बिमा कार्यक्रम अस्तव्यस्त भएको र बन्द हुने हल्ला चलेको भन्दै उनले यसलाई सच्याउन र सुधार गर्न आवश्यक रहेको बताए। पाँच वर्षको स्थिर सरकार बनेमा सुरुमा अहिलेको बेथिति हटाउने, त्यसपछि कभरेज बढाउने र अन्ततः बिमा गरेका नागरिकको उपचारको सम्पूर्ण खर्च राज्यले व्यहोर्ने सुनिश्चितता गर्ने उनले उल्लेख गरे। स्वास्थ्यलाई दान नभई सुरक्षा र संवैधानिक अधिकारका रूपमा स्थापित गर्न कांग्रेस दृढ रहेको उनको भनाइ छ।
उनले भने, ‘पाँच वर्षको सरकार बनिसकेपछि पहिले अहिलेको अस्तव्यस्त हटाउँछौँ, त्यसपछि कभरेज बढाउँछौँ, र तेस्रोमा बीमा गरेका नेपाली नागरिकको जति उपचार खर्च लागे पनि सबै राज्यले जिम्मा लिने अवस्था आउँछ।’