काठमाडौं। अहिले नेपालमा वार्षिक १२ लाख पर्यटक हवाई मार्गबाट आइरहेका छन्। भारत र चीनबाट सडक यात्राबाट आउने पर्यटकको संख्या गणना गरिएको छैन।
हरेक सरकारले वार्षिक लाखौँ पर्यटक नेपालमा ल्याउने घोषणा गरिरहेका छन्। अहिले पनि पर्यटक दशक मनाउने र ३० लाख पर्यटक ल्याउने घोषणा यसअघिको सरकारले गरेको थियो। तर, हालसम्म कसरी ३० लाख पर्यटक ल्याउने र त्यसका लागि आवश्यक नीति नियमहरु के-के परिवर्तन गरी पर्यटकहरुलाई सहजीकरण गरिने भन्ने कुनै जानकारी छैन।
अहिलेसम्म पर्यटन मैत्री नीति संशोधनसमेत हुन सकेको छैन। यस्तो अवस्थामा कसरी वार्षिक ३० लाख पर्यटक ल्याउन सकिन्छ? त भन्ने प्रश्नहरु उठ्न थालेका छ।
काठमाडौं म्यारियटका सञ्चालक शशीकान्त अग्रवालले वार्षिक ३० लाख हैन ५० लाख पर्यटक नेपालमा आउन सक्ने बताउँदै त्यसका लागि सरकारले नीतिगत सहजता गरिदिनुपर्ने बताउँछन्। उनी छिमेकी मुलुक भारत, चीन, बंगलादेश, म्यानमार, भुटानलगायतका देशमा आउने विदेशी पर्यटकलाई नेपालमा आउँदा भिसा नलाग्ने व्यवस्था गर्न आवश्यक रहेको बताउँछन्।
कतिपय पर्यटक भिसा लगाउनुपर्ने झनझटका कारण पनि घुम्न नआने गरेको बताउँदै भारतमा आउने पर्यटकलाई नेपालमा सहज रुपमा आउन पाउने व्यवस्था गर्न सरकारले आवश्यक नीति बनाउनुपर्ने उनको भनाइ छ।
नेपालको पर्यटन उद्योग महामारीपछिको पुनरुत्थान चरणमै छ।
अहिले युरोपमा २२ वटा मुलुक मिलेर सेन्जेन भिसा लागू गरेको छ। युरोपमा लागू सेन्जेन भिसा प्रणालीले एक पटक भिसा लिएपछि धेरै मुलुक घुम्न पाउने सुविधा दिएको छ।
नेपालको पर्यटन उद्योग महामारीपछिको पुनरुत्थान चरणमै छ। पर्यटक आगमन क्रमशः बढे पनि औसत बसाइँ अवधि र प्रतिपर्यटक खर्च अपेक्षित गतिमा उक्लिन सकेको छैन। यही सन्दर्भमा साझा भिसा प्रणाली लागू भए नेपाल-भारत-भुटान-बंगलादेश जस्ता निकट गन्तव्यलाई एउटै यात्रामा जोड्न सकिने हुँदा बहुगन्तव्य (मल्टिडेस्टिनेसन) पर्यटन फस्टाउने होटल एसोसिएन अफ नेपाल(हान)का अध्यक्ष विनायक शाहको भनाइ छ।
‘एकै यात्रामा धेरै देश समेटिँदा पर्यटकको बसाइँ लम्बिने र खर्च बढ्ने सम्भावना उच्च हुन्छ,' अध्यक्ष शाहले भने, ‘भारत नेपालका लागि सबैभन्दा ठूलो पर्यटक स्रोत हो। धार्मिक, सांस्कृतिक र स्वास्थ्य पर्यटनमा भारतको भूमिका अझै निर्णायक छ।’
कोर्रा टुर्सका प्रमुख कार्यकारी अधिकृत विजय अमात्यले भारतसहित छिमेकी मुलुकमा लगाएको भिसाले नेपालमा पनि आउन सक्ने व्यवस्था भए अहिलेको तुलनामा दोब्बर पर्यटक बढ्न सक्ने बताउँछन्। केही समयअघि भारत, बंगलादेश, भुटानसहितका छिमेकी मुलुकबीच समन्वय गरे मल्टिडेस्टिनेसनको अवधारणा अघि बढाए पनि ठोस निर्णयमा पुग्न नसकेको उनले बताए।
भुटानले धेरै पर्यटक आवश्यक नरहेको बताउँदै त्यो सहमति मान्न तयार नभएको जानकारी दिँदै कुटनीतिक पहल गरेर भुटानबाट नेपाल नगए पनि भुटानबाट नेपाल आउन पाउने व्यवस्था गर्न आवश्यक रहेको उनको भनाइ छ।
साझा भिसा वा भिसा सहजीकरणले भारतीय पर्यटकसँगै तेस्रो मुलुकका पर्यटकलाई पनि नेपाल प्रवेशमा सहजता दिनेछ। उदाहरणका लागि, युरोप वा अमेरिकाबाट भारत आएका पर्यटकले अतिरिक्त भिसा झन्झटबिना नेपाल भ्रमण गर्न सके हवाई, होटल, ट्राभल र स्थानीय सेवा क्षेत्रमा प्रत्यक्ष माग बढ्ने छ। यसले रोजगारी सिर्जना र राजस्व संकलनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
नेपाल र भारतबीच भिसा सहजिकरणको सम्झौता भने भएको छ।
तर, नीतिगत दृष्टिले यो प्रस्ताव सरल छैन। सेन्जेन प्रणाली युरोपेली संघभित्र साझा सीमा व्यवस्थापन, डाटा सेयरिङ, सुरक्षा प्रोटोकल र कूटनीतिक विश्वासको परिणाम हो। नेपाल र छिमेकी मुलुकबीच यति गहिरो संस्थागत संरचना विकास भइसकेको छैन। सुरक्षा, अवैध आवागमन, मानव तस्करी र सीमा व्यवस्थापनका चुनौतीलाई सम्बोधन नगरी साझा भिसा लागू गर्नु जोखिमपूर्ण हुन सक्छ। त्यसैले चरणबद्ध र पाइलट-आधारित मोडेल आवश्यक देखिन्छ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मनिराज लामिछानेले युरोपियन मोडल नेपालका लागि उपयुक्त हुने बताउँछन्। बोर्डले पनि पर्यटन मन्त्रालयसहित सरकारका निकायसँग यस विषयमा पटक-पटक छलफल गरे पनि निर्णय भने हुन नसकेको बताउँछन्। भिसा सहजीकरणमा सहजता अपाउन सके धेरै पर्यटक नेपालमा ल्याउन सकिने र विश्वमा सकरात्मक सन्देश जाने भएकोले सेन्जेन मोडल नेपालका लागि उपयुक्त हुने उनले बताए।
भारतबाट नेपाल आउन पाउँछन्- फर्किंदा पुनः भिसा लगाउनुपर्छ
नेपाल र भारतबीच भिसा सहजिकरणको सम्झौता भने भएको छ। सम्झौताअनुसार भारतमा आउने पर्यटक नेपालमा उही भिसामा आउन पाउने भए पनि नेपाल आएर पुनः भारतमा फर्किनु परे भिसा लगाएर मात्र जानुपर्ने सर्त छ। जसका कारण नेपाल आएर पुनः भारत जादा भिसा लगाउनुपर्ने झण्झटको कारण आउन नचाहेको बताउँछन्।
यसका लागि नेपाल सरकारले कुटनीतिक पहल गरी भारत हुँदै नेपाल आउने पर्यटकलाई भिसा सहजीकरण गरिदिन आवश्यक रहेको कोर्रा टुरका प्रमुख कार्यकारी अधिकृत अमात्यको भनाइ छ। भारत हुँदै नेपालमा केही दिन बसेर पुनः भारतमा फर्किने र त्यहीबाट आफ्नो मुलुकमा फर्किन चाहनेका लागि भने समस्या हुने गरेको बताउँछन्।
खासगरी नेपालबाट हवाई भाडा अत्याधिक महँगो हुने र भारतबाट जाँदा सस्तो हुने भएकाले टिकट काट्दा भारत हुँदै नेपाल आउने र नेपालबाट पुनः भारत पुगेर त्यहाँबाट जान चाहनेहरु धेरै हुने गरेको उनको भनाइ छ।