काठमाडौं। नेपालको आतिथ्य क्षेत्रमा ऐतिहासिक मानिने ठूलो लगानीको घोषणा गर्दै चौधरी ग्रुपले विश्वप्रसिद्ध लक्जरी होटल ब्रान्ड ‘द रिट्ज–कार्लटन’ नेपाल ल्याउने भएको छ। चौधरी ग्रुपले म्यारियटन इन्टरनेशनलसँग साझेदारी गर्दै यो परियोजना अघि बढाएको हो, जसले नेपालको पर्यटन क्षेत्रमा नयाँ स्तर स्थापित गर्ने अपेक्षा गरिएको छ।
सन १९८३ मा स्थापित ‘द रिट्ज–कार्लटन’ हाल ३० देशमा १०८ भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालन गर्दै आएको विश्वकै प्रतिष्ठित लक्जरी ब्रान्डमध्ये एक हो। यसको नेपाल प्रवेशलाई उच्चस्तरीय पर्यटन पूर्वाधार विकासतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
ठमेलमा १०० मिलियन डलरको मेगा परियोजना
राजधानीको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा्र ९ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको यस परियोजनाको भूमिपूजन शुक्रबार सम्पन्न भएको छ। करिब १०० मिलियन अमेरिकी डलर लागत अनुमान गरिएको परियोजनामा १५० कोठा क्षमताको अल्ट्रा लक्जरी होटल, ब्रान्डेड रेसिडेन्स, व्यवसायिक कम्प्लेक्स तथा क्यासिनोसमेत समावेश हुनेछन।
परियोजना २०२९ को मध्यसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सञ्चालनपछि होटलको एक रातको कोठा भाडा १,००० अमेरिकी डलरभन्दा माथि पुग्ने अपेक्षा गरिएको छ, जसले नेपाललाई उच्च खर्च गर्ने पर्यटकहरूको गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुर्याउनेछ।
बहु–पक्षीय साझेदारी
यो परियोजनामा चौधरी ग्रुपपअन्तर्गतको सिजी हस्पिटालिटी ग्लोबल सँगै विभिन्न निजी क्षेत्रका लगानीकर्ताहरूको सहकार्य रहेको छ। यसले नेपालमा ठूला अन्तर्राष्ट्रिय ब्रान्ड भित्र्याउन निजी क्षेत्रको सक्रियता र आत्मविश्वास झल्काउँछ।
सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक तथा सीईओ राहुल चौधरीले यस परियोजनालाई केवल होटल निर्माण मात्र नभई “विश्वस्तरीय पर्यटनको नयाँ अध्याय” को रूपमा व्याख्या गरेका छन। उनका अनुसार, यो पहल युवा उद्यमशीलता, अन्तर्राष्ट्रिय सोच र नेपालको पर्यटन क्षमताप्रतिको विश्वासको प्रतिविम्ब हो।
बालेन सरकारप्रति निजी क्षेत्रको संकेत
नयाँ प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकार गठनसँगै यस्तो ठूलो लगानी घोषणा हुनु निजी क्षेत्रबाट सकारात्मक संकेतका रूपमा लिइएको छ। लगानीकर्ताहरूले सरकारको निजी क्षेत्रप्रतिको नीतिगत समर्थन र लगानी प्रवद्र्धनप्रतिको प्रतिबद्धतामा विश्वास व्यक्त गरेका छन।
परियोजनाले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना, विदेशी लगानी आकर्षण तथा पर्यटन आम्दानी वृद्धि गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
सीजी हस्पिटालिटीको विश्वव्यापी विस्तार
सीजी हस्पिटालिटी ग्लोबलले हाल १२ देशका १३० गन्तव्यमा २३० भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालन गर्दै आएको छ। यसको कुल रुम क्षमता १५,००० भन्दा बढी रहेको छ, जसले नेपाली लगानीको अन्तर्राष्ट्रिय विस्तारलाई स्पष्ट पार्छ।
अर्थतन्त्रमा चौधरी ग्रुपको योगदान
चौधरी ग्रुुप नेपालकै सबैभन्दा ठूलो व्यापारिक घराना मात्र नभई कर योगदान र रोजगारी सिर्जनामा अग्रणी संस्था पनि हो। समूहले सरकारको वार्षिक राजस्वमा करिब २ प्रतिशत योगदान पुर्याउँदै आएको छ। आर्थिक वर्ष २०८१–८२ मा मात्रै २५।५९ अर्ब रुपैयाँ राजस्व योगदान गरेको समूहले पछिल्ला पाँच वर्षमा कुल ९२।२६ अर्ब रुपैयाँ सरकारलाई बुझाइसकेको छ।