काठमाडौं। शनिबारदेखि भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी-२० विश्वकपमा नेपाल इङ्ल्यान्डविरुद्ध चार रनले पराजित भएको छ। इङ्ल्यान्डले दिएको १८५ रनको विशाल लक्ष्य पछ्याएको नेपालले अन्तिम अवस्थामा पराजित भएको हो।
टस जितेर पहिला ब्याटिङ रोजेको इङल्यान्डले निर्धारित २० ओरभमा सात विकेट गुमाउँदै १८४ रनको योगफल बनाएको थियो।
विशाल लक्ष्य पछ्याएको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक २९ बलमा ४४ रन बनाएका थिए। कप्तान रोहित पौडेलले ३४ बल खेल्दै ३९ रन बनाए। २० बल खेलेका लोकश बम ३९ रन बनाउँदै नटआउट बने। यस्तै ओपनर कुशल भुर्तेलले २९ रन बनाउँदा अरु खेलाडीले राम्रो रन बनाउन सकेनन्।
इङ्ल्याडका लागि ज्याकब बेथेलले सर्वाधिक ५५ रनको योगदान दिए। त्यसैगरी कप्तान ह्यारी ब्रुकले ५३, विल ज्याक्सले अविजित ३९ रनको योगदान दिँदा जस बटलरले २६ रन बनाएका थिए।
बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी, र नन्दन यादवले समान दुई दुई विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले समान एक÷एक विकेट झारे।
नेपालले दुई पटकको च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै यस पटकको विश्वकपको यात्रा सुरुवात गरेको हो। नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकपमा सहभागिता जनाएको थियो।
दुवै पटकको विश्वकपमा नेपालले समूह चरण पार गर्न सकेको थिएन। नेपालको समूहमा इङ्ल्यान्डसँगै वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड छ।