काठमाडौं। साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन आइतबार ओरालो लागेको नेप्से परिसूचकले सोमबार पनि गिरावटलाई निरन्तरता दिएको हो।
सोमबार नेप्से परिसूचक २६.०५ अंकले घट्दै २६७२.३९ विन्दुमा बन्द भएको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ४.०२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५७ अंकले गिरावट देखाएका छन्।
बजारसँगै कारोबार रकम पनि घटेको छ। सोमबार ३२४ कम्पनीका २ करोड ६७ लाख ६६ हजार कित्ता सेयर १ लाख २ हजार २८१ पटक कारोबार हुँदा कुल कारोबार रकम १० अर्ब ७७ करोड ३९ लाख रुपैयाँ पुगेको छ। आइतबार बजारमा ११ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको थियो।
सोमबार खानी खोला हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ। त्यसैगरी रिडी हाइड्रोपावरको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी र लिबर्टी इनर्जीको करिब ८ प्रतिशतले वृद्धि भएको छ। यता, माया खोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक ५.४० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ७७ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसपछि एसवाई प्यानल नेपालको ५४ करोड रुपैयाँभन्दा बढी र आँखु खोला जलविद्युत कम्पनीको ४८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
१३ उपसमूहमध्ये सोमबार एक उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेका छन्। व्यापार उपसमूह सामान्य बढेको हो। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २।२९ प्रतिशतले घटेको छ। साथै विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र अन्य उपसमूह पनि १ प्रतिशतभन्दा बढीले घटेका छन्।