काठमाडौं । नेपाली काँग्रेसले कोरोना भाइरस महामारीबाट परेको असरको अध्ययन गर्न उद्योगपति तथा सांसद विनोदकुमार चौधरीको संयोजकत्वमा लगानी र पुर्वाधार रोजगार: दृष्टिकोण एवम परियोजना विशेष समिति गठन गरेको छ ।
गत वैशाख १७ गते सम्पन्न काँग्रेस केन्द्रीय समिति बैठकले कोरोना महामारीले विभिन्न क्षेत्रमा पारेको असरहरुको अध्ययन गरी देशका लागि आवश्यक कार्य गर्न समिति गठनको निर्णय गरेको थियो । सोही निर्णयका आधारमा पार्टी सभापति शेरबहादुर देउवाले विशेष समिति गठन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
विशेष समितिको सदस्यमा दीपक खड्का, उमेश श्रेष्ठ, इन्द्र वाँनिया, टेकबहादुर गुरुङ, कर्मा घले, जीपछिरिङ लामा, मोहन आचार्य, छत्र गिरी, सूर्यबहादुर केसी, तेजुलाल चौधरी, अनिल रुङटा, विष्णुबहादुर खड्का, पूर्णबहादुर तामाङ र खगेश्वर बोहरा रहेका छन ।
विशेष समितिले कोरोना महामारीका कारण लगानी, रोजगार र पुर्वाधार क्षेत्रमा परेको असरलाई तत्कालिन र दुरगामी रुपमा सम्बोधन गर्न सक्ने नीति बारे अध्यन गरी पार्टीको अर्थतन्त्र केन्द्रीत विशेष समितिलाई सुझाव दिने छ ।
यस्तै दीर्धकालिन रुपमा लगानी, रोजगार र पुर्वाधारका क्षेत्रमा दुरगामी दृष्टिकोषका साथ दीगो परियोजनाको परिकल्पनासहित कार्यन्वयनमा भुमिका निर्वाह गर्ने काँग्रेसले जनाएको छ । सो समितिको संख्या २१ मा नबढ्ने गरी थप गर्न सकिने पौडेलले जानकारी दिए ।
