काठमाडौं। नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज सेवा सञ्चालनमा ल्याएको छ। बैंकले ग्राहकलाई सहज, छरितो र प्रविधिमैत्री बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले उक्त सेवा सुरु गरेको जनाएको छ।
बैंक अध्यक्ष निर्वाणकुमार चौधरी तथा सञ्चालक सरिता भट्ट अधिकारीले संयुक्त रुपमा बुधबार डिजिटल लाउञ्ज सेवा उद्घाटन गरे।अध्यक्ष चौधरीले ग्राहकले अब डिजिटल्ली २४सै घन्टा सहजै बैंकिङ कारोबार गर्न सक्ने जनाए। उनले नवप्रवर्तन र डिजिटाइजेसनमा बैंक सधैं अब्बल रहेको बताए।
डिजिटल लाउञ्जमा ग्राहकले एटीएममार्फत नगद झिक्न, क्यास डिपोजिट मेसिनबाट नगद जम्मा गर्न, कियोस्क मेसिनमार्फत चेक डिजिटली जम्मा गर्न सक्नेछन्। बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले एउटै स्थानमा बहुउद्देश्यीय डिजिटल सेवा उपलब्ध गराइएकाले ग्राहकको समय बचत हुनुका साथै सेवा प्रवाह अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे।
बैंकका यसै प्रकृतिका डिजिटल लाउञ्ज यसअघि केन्द्रीय कार्यालय र इटहरीमा सञ्चालनमा आइसकेका छन्। डिजिटल लाउञ्ज सेवा विस्तारसँगै बैंकले परम्परागत काउन्टरमा आधारित सेवामा निर्भरता कम गर्दै डिजिटल बैंकिङतर्फको यात्रालाई थप सशक्त बनाएको छ।
कार्यक्रममा बैंकका सञ्चालक प्रविन टिवडेवाला, अनिल केशरी शाह, प्रमुख कार्यकारी अधिकृत ज्ञवाली, नायब प्रमुख कार्यकारी अधिकृतद्वय भुपेन्द्र पाण्डे तथा आदर्श बजगाईं, नायब महाप्रबन्धकद्वय गणेश प्रसाद अवस्थी तथा ज्ञानेन्द्र प्रताप शाहलगायत उच्च पदाधिकारी उपस्थित थिए।
ग्राहक सुविधा, सेवा पहुँच, विस्तार र प्रविधिको प्रभावकारी प्रयोगमार्फत नबिल बैंकले डिजिटल बैंकिङ केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ।
नबिल बैंकले हाल देशभर २६८ शाखा र ३२१ एटिएमबाट बैंकिङ सेवा दिँदै आएको छ।