काठमाडाैं। एसियाली विकास बैंकले सोना श्रेष्ठलाई आफ्नो दक्षिण एसिया विभागको महानिर्देशकमा नियुक्त गरेको छ। नयाँ जिम्मेवारीसँगै श्रेष्ठले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा बैंकका रणनीति तथा कार्यक्रमहरूको विकास र कार्यान्वयनको नेतृत्व गर्ने छिन्।
नियुक्तिपछि प्रतिक्रिया दिँदै श्रेष्ठले भनिन्,‘दक्षिण एसिया विभागको महानिर्देशकमा नियुक्त हुन पाउँदा म अत्यन्त सम्मानित महसुस गरिरहेकी छु। यस क्षेत्रका विकासशील सदस्य मुलुकहरूसँग नजिकबाट सहकार्य गर्दै समावेशी र दिगो विकासलाई थप सशक्त बनाउने उद्देश्यका साथ काम गर्नेछु।’
विकास क्षेत्रमा २७ वर्षभन्दा बढी अनुभव हासिल गरेकी श्रेष्ठले एशियाली विकास बैंकमै २३ वर्ष सेवा दिइसकेकी छन्। यसअघि उनी दक्षिण एसिया विभागकै उप–महानिर्देशकको जिम्मेवारीमा थिइन्।
उनले बैंकको स्वतन्त्र मूल्यांकन विभागको उप–महानिर्देशक, दक्षिणपूर्व एसियाका लागि वित्तीय क्षेत्र तथा व्यापार महाशाखाकी निर्देशक, सहायक सचिव तथा इन्डोनेसियाका लागि उप–देश निर्देशकका रूपमा समेत काम गरिसकेकी छन्। एसियाली विकास बैंकभित्र रहँदा उनले मध्य तथा पश्चिम एसिया, दक्षिण एसिया र दक्षिणपूर्व एसियामा विभिन्न विकास आयोजनाहरूमा व्यापक कार्यानुभव संकलन गरेकी छन्।
नेपालकी नागरिक श्रेष्ठले संयुक्त राज्य अमेरिकास्थित क्यालिफोर्निया विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा विद्यावारिधि तथा स्नातकोत्तर उपाधि हासिल गरेकी छन्। साथै, उनले म्यासाचुसेट्स राज्यको स्मिथ कलेजबाट अर्थशास्त्रमै स्नातक तहको अध्ययन पूरा गरेकी छन्।
एसियाली विकास बैंक एसिया तथा प्रशान्त क्षेत्रका मुलुकहरूमा समावेशी, उत्थानशील र दिगो आर्थिक वृद्धिलाई सहयोग गर्दै आएको अग्रणी बहुपक्षीय विकास बैंक हो। सन् १९६६ मा स्थापना भएको यस बैंकका ६९ सदस्य राष्ट्र छन्, जसमध्ये ५० वटा एसिया तथा प्रशान्त क्षेत्रकै मुलुकहरू हुन्। बैंकले नवीन वित्तीय साधन र रणनीतिक साझेदारीमार्फत जनजीवन रूपान्तरण, गुणस्तरीय पूर्वाधार निर्माण तथा वातावरण संरक्षणमा योगदान पुर्याउँदै आएको छ।