काठमाडौं। वाणिज्य बैंकहरुले फागुनका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। प्रकाशित सूचनाअनुसार बैंकहरुको ब्याजदर माघको तुलनामा घटेको छ।
वाणिज्य बैंकहरूको ब्याजदर घट्ने क्रम फागुनमा पनि जारी छ। फागुनका लागि सार्वजनिक नयाँ ब्याजदरअनुसार बैंकहरुको औषत ब्याजदर ४.५७ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो महिना ४.६८ प्रतिशत थियो।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ९ बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने ११ वटाले स्थिर राखेका छन्। बैंकहरूसँग हाल कर्जा लगानीयोग्य रकम उच्च भएका कारण ब्याजदर घटेको हो।
माघमा ४.६८४५ प्रतिशत रहेको बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औषत ब्याजदर फागुनमा ०.११५५ प्रतिशत बिन्दुले घटेर ४.५६९ प्रतिशत बिन्दुमा झरेको छ। संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत दर समीक्षा अवधिमा ०.०५१५ प्रतिशत बिन्दुले घटेको छ।
फागुनमा ९ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। यसमध्ये ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी ०.७५ प्रतिशतले घटाएको छ। माघमा ५.५ प्रतिशत रहेको सो बैंकको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर फागुनमा घटेर ४.७५ प्रतिशतमा झरेको छ।
११ बैंकले यस्तो मुद्दतीको अधिकतम ब्याजदरमा माघकै दरलाई निरन्तरता दिएका छन्। फागुनमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याज नेपाल बैंकले दिने भएको छ।
सो बैंकले अधिकतममा ५.१ प्रतिशतका दरले ब्याज दिने भएको छ। सबैभन्दा कम ब्याजदर भने स्ट्यान्डर्ड चार्टर्ड, कृषि विकास बैंक, प्राइम कमर्सियल, नेपाल एसबिआई, एभरेष्ट र सिद्धार्थ बैंकको रहेको छ।
यी बैंकले अधिकतम ४.२५ प्रतिशतका दरले ब्याज दिने भएका छन्। संस्थापक मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज ४ प्रतिशत रहेको छ। हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसिया बैंक र एनएमबी बैंकले सो दरमा ब्याज दिनेछन्।