काठमाडौं। मोबाइल सेवाप्रदायक कम्पनी एनसेल र डिजिटल कृषि प्लेटफर्म सुपर कृषकबीच सहकार्य सम्झौता भएको छ। सम्झौतापछि देशभरका किसानलाई डिजिटल र प्रिमियम कृषि सेवा उपलब्ध गराउन सहयोग पुग्नेछ। सहकार्यको मुख्य उद्देश्य मोबाइल फोनमार्फत सहजै सबै किसानसम्म आधुनिक कृषि सेवा उपलब्ध गराउनु रहेको छ।
सहकार्य नेपालको कृषि क्षेत्रलाई डिजिटल बनाउने यात्रा तथा कृषि क्षेत्रमा रहेको डिजिटल असमानता घटाउने दिशामा ऐतिहासिक कदम भएको एनसेलले बताएको छ। हालसम्म देशका ३० हजार बढी किसान सुपर कृषक प्लेटफर्ममा दर्ता भइसकेका छन्। यस प्लेटफर्ममार्फत अनलाइन कृषि तालिम, कृषि डाक्टर तथा कृषि (स्याटेलाइट अनुगमन)जस्ता डिजिटल उपकरण र सेवा उपलब्ध हुनेछन्।
यसले किसानलाई आफ्नै मोबाइल फोनमार्फत वास्तविक समयमै कृषि परामर्श, रोगकिरा तथा बाली समस्या पहिचान र बाली अनुगमनसम्बन्धी जानकारी प्राप्त गरी स्वमूल्यांकन गर्न सक्षम बनाउनेछ।
सहकार्यले गर्दा देशका प्रत्येक जिल्लाका किसानहरूले आफ्नो मोबाइल फोनमार्फत उन्नत, सुलभ र स्थानीय आवश्यकता अनुकूल कृषि परामर्श प्राप्त गर्न सक्ने हुनेछन्। उच्च पहाडदेखि तराईका फाँटसम्म अब किसानका हात हातमा विशेषज्ञको सल्लाह सुझाव अनि आधुनिक प्रविधिको पहुँच सुनिश्चित भएको छ।
एनसेलको बृहत् नेटवर्क पहुँच र लाखौं सक्रिय ग्राहक भएकाले अब सुपर कृषकका प्रिमियम सेवा आमकिसानलाई भ्यालु एडेड दूरसञ्चार सेवाका रूपमा उपलब्ध हुनेछ। योसँगै नेपालमै पहिलो पटक किसानले भ्वाइस, डेटा वा एसएमएस सेवा लिएझैं सहज रूपमा आफ्नो मोबाइल ब्यालेन्सबाटै कृषि सेवाको लाभ उठाउन सक्ने एनसेलको भनाइ छ।
किसानले सुपर कृषक एपमार्फत यो सेवा लिन सक्छन्। यस एपमा विभिन्न अवधिका सदस्यता प्याकेज उपलब्ध छन्। एक वर्षको प्याक किस्ताबन्दीमा लिन चाहनेले प्रत्येक तीन दिनमा १३ रुपैयाँ तिर्दै वार्षिक १ हजार ५६० रूपैयाँ खर्चिनुपर्नेछ। त्यस्तै ६ महिनाका लागि प्रत्येक तीन दिनमा १४ रुपैयाँ भुक्तानी गरी कुल ८४० रुपैयाँ तिर्नुपर्नेछ।
एकमुष्ट भुक्तानी गर्ने किसानहरूले भने ६ महिनाका लागि ७५६ रुपैयाँ तथा एक वर्षका लागि १२४८ रुपैयाँ तिरेर सेवा लिन सक्छन्। त्यस्तै कृषि डाक्टर सुविधामार्फत कृषकले ८०० भन्दा बढी बालीका रोग किरा तथा अन्य समस्या पहिचान एआईमार्फत गर्न सक्नेछन्।
एनसेल र सुपर कृषकले यो सेवा अबको एक वर्षमै १ लाख २० हजारभन्दा बढी किसानसम्म पुर्याउने लक्ष्य राखेका छन्।