काठमाडौं। नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका चार वटा लघु निर्जीवन बिमा कम्पनीले विभिन्न क्षेत्रमा साढे २ अर्ब बढी लगानी गरेको देखिएको छ।
प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्म लघु निर्जीवन बिमा कम्पनीले विभिन्न क्षेत्रमा २ अर्ब ५० करोड ९१ लाख रुपैयाँ लगानी गरेका हुन्।
यीमध्ये सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सले विभिन्न क्षेत्रमा ८१ करोड १९ लाख रुपैयाँ लगानी गरेको छ। प्राधिकरणका अनुसार दोस्रोमा स्टार माइक्रोले ५८ करोड ७० लाख रुपैयाँ लगानी गरेको छ।
यस्तै, प्रोटेक्टिभ माइक्रोले ५६ करोड ६२ लाख रुपैयाँ लगानी गरेको छ। ट्रस्ट माइक्रोले ५४ करोड ३८ लाख रुपैयाँ लगानी गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।
चार निर्जीवन लघु बिमा कम्पनीको सर्वाधिक लगानी बैंकको मुद्दती निक्षेपमा रहेको छ। निर्जीवन बिमा कम्पनीले ‘क’ वर्गका बैंकमा १ अर्ब ९८ करोड ४ लाख, ‘ख’ वर्गका बैंकमा १४ करोड ६१ लाख र ‘ग’ वर्गका वित्तीय संस्थामा ५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेका हुन्।
सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा ३१ करोड ६३ लाख रुपैयाँ लगानी गरेका छन्। चार कम्पनीमध्ये स्टार माइक्रो इन्स्योरेन्सको यसमा लगानी छैन। बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ७३ लाख रुपैयाँ छ, जसमा नेपाल माइक्रो इन्स्योरेन्स र ट्रष्ट माइक्रोले मात्रै लगानी गरेका छन्।
चारमध्ये प्रोटेक्टिभ माइक्रो कम्पनीबाहेक तीन वटाले नागरिक लगानी कोष तथा म्युचुअल फन्डमा ९० लाख रुपैयाँ लगानी गरेका छन्।
-1771032445.png)