काठमाडौं। कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ। वर्षभरि निरन्तर चल्ने दिगो वातावरण संरक्षण अभियान महाशिवरात्रिअघि उद्घाटन गरिएको हो।
यसमा दस लाखभन्दा बढी भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ। पशुपति क्षेत्र विकास कोषले पनि यस पहललाई दृढ समर्थन गर्ने जनाएको छ।
‘सफा गरौं’ अभियान महाशिवरात्रिको पाँच दिन पहिले र पाँच दिन पछिसम्म लगातार १० दिनसम्म चल्नेछ। यसले मन्दिरमा फोहोर व्यवस्थापन, सार्वजनिक सुरक्षा, सुरक्षित खानेपानीको पहुँच र पुनः प्रयोग गर्न सकिने (सर्कुलर इकोनोमी) अभ्यासलाई प्राथमिकता दिनेछ।
यसका लागि ५०० भन्दा बढी स्वयंसेवक—विद्यार्थी, युवा, फोहोर संकलक र सामाजिक कामदारलाई मैदानमा सक्रिय गराइँदैछ, जसले भक्तजनलाई सचेत राख्दै वातावरणीय अभ्यासको प्रवर्द्धन गर्नेछन्।
कार्यक्रममा बोट्लर्स नेपालका प्रबन्ध निर्देशक अजय कोनालेले भने, ‘कम्पनीले सफाइ साथी, रिसाइक्लर, स्थानीय साझेदार र नगरपालिका निकायसँग नजिक रहेर वातावरण संरक्षणसम्बन्धी काम गरिरहेको छ। यो परियोजनाले रिसाइक्लिङमा काम गर्ने मुख्य व्यक्तिलाई सहयोग गर्छ।’
कोकाकोला इन्डिया एन्ड साउथ वेस्ट एसियाकी वरिष्ठ निर्देशक (ईएसजी भ्यालु क्रियसन एन्ड कमर्सियलाइजेसन) सलोनी गोयलले ठूला सभा–समारोहले फोहोर व्यवस्थापनमार्फत आगन्तुकका लागि सफा वातावरण सिर्जना गर्ने अवसर दिने बताइन्। कार्यान्वयन साझेदार र स्थानीय अधिकारीसँगको सहकार्यमा नेपालका महत्वपूर्ण सांस्कृतिक कार्यक्रममध्ये फोहोर संकलन, छुट्याउने र नष्ट गर्ने काममा ह्यास्ट्यागसफागरौं मार्फत वातावरणलाई सफा राख्न सघाउँदै आएको उनको भनाइ छ।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले क्रियसनसँगको सहकार्यले पशुपति क्षेत्रमा सरसफाइ अभियानलाई महत्त्वपूर्ण सहयोग पुगेको बताए। लाखौँ भक्तजन तथा पर्यटक आउने प्रमुख धार्मिक स्थलमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण भए पनि सरोकारवालाको सहकार्यबाट निरन्तर सरसफाइ कायम राख्न सफल भएको उनले उल्लेख गरे।
क्रियसनकी कार्यक्रम निर्देशक सुजाता कोइरालाले युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर क्षेत्रलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाइराख्ने उद्देश्यले सञ्चालन गरिएको अभियानले दिगो सरसफाइ संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन्।
पहलअन्तर्गत ठूला सार्वजनिक कार्यक्रममा दिगो अभ्यासलाई प्रवद्र्धन गर्न विभिन्न नयाँ उपाय अपनाइएको छ। मल्टि–लेयर प्लास्टिकबाट बनेको ‘सुरक्षा तथा आपतकालीन सहायता कक्ष’ले फोहोरलाई पुनःप्रयोग गरेर उपयोगी बनाउने, मन्दिर परिसरका उपयुक्त स्थानमा राखिएका हाइड्रेसन स्टेसनले भक्तजन, स्वयंसेवक तथा सुरक्षाकर्मीलाई सुरक्षित पिउने पानीको निरन्तर सुविधा उपलब्ध गराउनेछन्।
वर्षभरि सञ्चालन हुने कार्यक्रममा ४० वटा रिसाइकल गरिएका बेन्च, ट्राइ–बिन, बोतल आकारका पेट संकलन बिन तथा बागमती नदीमा दुई वटा फोहोर बुमजस्ता स्थायी पूर्वाधार स्थापना गरिएको छ। स्वयंसेवकलाई भीड व्यवस्थापन, सचेतना अभियान र भक्तजनमा दिगो अभ्यास प्रवर्द्धन गर्ने कार्यमा सक्रिय बनाइएको छ।