काठमाडौं। आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे। नेपालसहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी माया बाँडचुँड गरिन्छ। भ्यालेन्टाइन डेका दिन साँचो मायापिरती जुगौंजुगसम्म नटुट्ने वाचासहित प्रेमी–प्रेमिकाले एकअर्कामा गुलाबको फूल साटासाटा गर्छन्। प्रेम भरिएका बातचित गर्छन्।
हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ। विशेषगरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रुपमा प्रणय दिवसलाई लिने गरिएको छ। यस दिन युवायुवतीले प्रेमको प्रतीक रातो गुलाबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्दछन्।
भ्यालेन्टाइन डेलाई विभिन्न मुलुकमा सप्ताहकै रूपमा साताभरि मनाउने गरिन्छ। साताको पहिलो दिन रोज डे, दोस्रो दिन प्रपोज डे, तेस्रो दिन चकलेट डे, चौथो दिन टेड्डी डे, पाँचौं दिन प्रमिस डे, छैटौं दिन हक डे, सातौं दिन किस डे र अन्तिम दिन भ्यालेन्टाइन डे मनाउने गरिन्छ। यस दिन युवायुवती एकान्त ठाउँ, पार्क तथा विभिन्न स्थानमा डेटिङ जान्छन्।

नेपालको सन्दर्भमा यो दिवस विशेषगरी सहरी क्षेत्रमा बढी लोकप्रिय छ। यो वर्षको भ्यालेन्टाइन डे शनिबार परेकाले ‘लभर’हरुका लागि नजिकका पाखापखेरामा रमाएर प्रेमाभाव अंकुरित गर्ने सुखद समय रहेको छ। युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा युवायुवतीले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन्।
प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको बताइन्छ। यो दिवस अहिले विश्वभर चर्चित छ। भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन्स डे मनाउने गरिएको हो।
भ्यालेन्टाइन डेको इतिहास
संसारभर लोकप्रिय भ्यालेन्टाइन डे को इतिहास रोचक छ। यसको इतिहास एक महान् प्रेमीको वलिदानसँग जोडिएको छ। तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको भ्यालेन्टाइन डेको खास अर्थ फर्केर हेर्दा पादरी सेन्ट भन्यालेन्टाइनको वलिदानी जोडिएको छ।
तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितियले युवाहरु प्रेम र विवाहतिर लागेमा सैनिक सेवा प्रभावित हुन्छ भन्ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए। तर, पादरी सेन्ट भ्यालेन्टाइन भने यो निर्णयलाई मानव धर्मविरुद्ध भएको ठान्दथे।
त्यसपछि भ्यालेन्टाइनले सम्राटको आदेश विपरीत लुकीछिपी विभिन्न जोडीको बिहे गराइदिन थाले। पादरीले बिहे गराइदिएको खबर एक कान दुई कान मैदान हँुदै सम्राटसम्म आइपुग्यो। सम्राटको आदेशमा भ्यालेनटाइनलाई प्रक्राउ गरी जेलमा थुनियो र मृत्युदण्ड दिने निर्णय गरियो।
भ्यालेन्टाइनलाई झुन्ड्याउनु अगाडि उनले ‘लभ फ्रम भ्यालेन्टाइन’ भनी हस्ताक्षर गरी एउटा नोट एक महिलालाई दिएका थिए।भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन झुन्ड्याइएको थियो।

उनलाई मृत्युुदण्ड दिएको दिनलाई नै प्रेमको विशेष दिनको रूपमा भ्यालेन्टाइन डे भनेर मनाउन थालिएको हो। भ्यालेन्टाइनले ती महिलालाई प्रेमबारे दिएको उक्त लिखित नोटलाई आज पनि उत्तिकै विश्वास मानिन्छ। भ्यालेन्टाइन डेका दिन आफ्नो सन्देश खबर लेखेर प्रेमीप्रेमिकालाई दिने चलन पछि चल्यो।
भ्यालेन्टाइनको बुझाइअनुसार अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन्। त्यसैले उनले राजाको आदेश समेत अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित गर्ने, जोडीहरु खोजेर सार्वजनिक स्थलमै सामूहिक विवाह गराइदिन्थे।
बीसौं शताब्दीमा आएर भ्यालेन्टाइन डे युरोपभरि मनाउने प्रचलन आयो भने एक्काइसौं शताब्दीमा यो दिवस विश्वभरि मनाउन थालियो। तर, विश्वका केही मुलुकमा भ्यालेन्टाइन डे मनाउन प्रतिबन्ध छ। साउदी अरब, इरान, इराक, इन्डोनेसियालगायत छन् भने मलेसियामा मुस्लिमलाई यो दिवस मनाउन प्रतिबन्ध गरिएको छ।
विशेषगरी फेब्रुअरी महिनालाई प्रेम र शान्तिको महिना पनि भनेर चिनिन्छ। यस अवसरमा जसरी युवायुवती तथा प्रेमप्रेमिका प्रेम र विश्वासको प्रतीकको रूपमा मनाउँछन्। पछिल्लो समय भ्यालेन्टाइन डे विश्वभर पर्वकै रूपमा स्थापित भइसकेको छ।