काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन स्थलमा दुग्ध विकास संस्थान (डीडीसी)का उत्पादनहरू बिक्रीका लागि स्टल राखिएको छ। आइतबारदेखि तीन दिनसम्म चितवनमा हुने रास्वपाको महाधिवेशन स्थलमा डीडीसीका उत्पादन बिक्री गर्न स्टल राखिएका हुन्।
प्रधानमन्त्रीसमेत रहेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले डीडीसीका उत्पादन, चिजसहितको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दा भाइरल भएको थियो। त्यसको केही दिनपछि मन्त्रिपरिषद् बैठकमा सहभागी सदस्यहरूको अगाडि डीडीसीका उत्पादन राखेर बसेको तस्बिर सार्वजनिक भएको थियो।
यसको निरन्तरमा आजदेखि सुरु भएको रास्वपाको महाधिवेशन स्थलमा डीडीसीले आफ्ना विविध दुग्धजन्य उत्पादनहरू बिक्री तथा प्रदर्शनीका लागि राखेपछि नेता तथा कार्यकर्ताहरू डीडीसीको स्टलमा झुम्मिएका देखिन्छन्।
डीडीसीको स्टलमा करिब दुई दर्जन हाराहारी दुग्धजन्य उत्पादनहरु रहेको र तिनमा ५ देखि १० प्रतिशतसम्म छुट व्यवस्था गरिएको पनि बताइएको छ।
डीडीसी नेपाल सरकारको स्वामित्वमा रहेको सार्वजनिक संस्था हो। यसले देशभरका किसानबाट दूध संकलन गरी दूध, दही, घ्यु, मही, पनिर, चिज, आइसक्रिम, दूध पाउडर, खुवालगायतका उत्पादन बिक्री वितरण गर्दै आएको छ।
पछिल्ला समय निजी डेरी उद्योगसँगको प्रतिस्पर्धा, वित्तीय चुनौती र बजार विस्तारको दबाबका बीच डीडीसीले आफ्नो उपस्थिति कायम राख्न विभिन्न प्रयास गरिरहेको छ।
यस्तो अवस्थामा प्रधानमन्त्री शाहको सार्वजनिक अभियान र राजनीतिक कार्यक्रमहरूमा समेत डीडीसीका उत्पादन प्रयोग हुन थालेको घटनालाई कतिपयले सरकारी स्वामित्वका उद्योगको प्रवर्द्धनका रुपमा व्याख्या गरेका छन्। सरकारी संस्थाका उत्पादनको प्रयोग बढ्दा किसानबाट संकलित दूधको बजार विस्तार हुने र स्वदेशी उत्पादनलाई टेवा पुग्ने अपेक्षा गरिएको छ।