काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेससँग देश बदल्ने सोच, सङ्कल्प र योजना रहेको बताएका छन्। सर्लाही क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका सभापति थापाले मतदातासँग भेटघाट गर्दै विगतमा गरेका कमीकजोरीबाट सिक्दै वर्षौंदेखि गर्छौं भनेर गर्न नसकिएका कामलाई मुर्त रूप दिने योजना तथा तयारीसहित नेपाली कांग्रेस निर्वाचनमा सहभागी भएको बताए।
उनले भने, “दोस्रो विशेष महाधिवेशन पश्चात नेपाली कांग्रेस नयाँ भएको छ, यो नयाँ कांग्रेससँग आगामी पाँच वर्ष काम गर्ने योजना, उत्साह र सङ्कल्प छ। हामीले विगतबाट सिकेका छौँ, त्यसैले आगामी दिनमा के गर्ने भन्नेमा स्पष्ट छौँ।”
भेटघाटमा सभापति थापाले युवालाई स्वदेशमै राख्न रोजगारी सिर्जना गर्न नीति नियममार्फत नीजि क्षेत्रलाई प्रोत्साहित गर्ने बताए। “प्रत्येक वर्ष हामीले झन्डै पाँच लाख रोजगारी सिर्जना गर्नुपर्ने अवस्था छ। त्यो प्रधानमन्त्री वा सरकारले मात्र गर्न सक्दैन। त्यसका लागि हामीले नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने हो, लगानीमैत्री वातावरण बनाउने हो, नीति नियममार्फत प्रोत्साहन गर्ने हो। पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना बढेका छन्, नेपालका युवालाई अझैँ दक्ष बनाएर विदेशी लगानीकर्तालाई आकर्षित गर्न सक्छौँ। लगानीकर्तालाई चाहिने नीति, नियम र दक्ष जनशक्ति हामीसँग हुँदै गर्दा सहयोगी सरकार भएमा विश्वभरका लगानीकर्ता एकपटक नेपालमा लगानी गर्न प्रेरित हुनेछन्। म यिनै विषयमा आगामी पाँच वर्ष काम गर्न चाहन्छु”, सभापति थापाले भने।
सर्लाही ४ मा आगामी एक वर्षभित्रमै आफ्नो ज्ञान र नेटवर्कको प्रयोग गरेर शिक्षा, स्वास्थ्य र उद्यमशीलताका क्षेत्रमा काम गरेर अहिले देखिएका समस्या समाधान गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।