पोखरा। फेयर ट्रेड कर्पोरेसनले पोखरामा अन्तर्राष्ट्रिय ख्याति प्राप्त पाइलट ब्रान्डका पेनको आधिकारिक आउटलेट सञ्चालनमा ल्याएको छ। पोखरा महानगर ३ नदीपुरस्थित कोट्रयार्ड भवन (मीनमार्ट रहेको भवन)मा शनिबार एक विशेष समारोहका बीच आउटलेट उद्घाटन गरिएको हो।
उक्त शोरुमको संयुक्त उद्घाटन कम्पनीका तर्फबाट जापानी नागरिक मसो नाका र टामायुकी कावानाले गरेका हुन्। उद्घाटन समारोहमा चर्चित हास्य कलाकार सन्दीप क्षेत्रीको पनि उपस्थिति रहेको थियो।
फेयर ट्रेड कर्पोरेसनले पछिल्ला ४२ वर्षदेखि नेपालमा पाइलट पेनको बिक्री तथा वितरण गर्दै आएको छ। कम्पनी निर्देशक मीन अग्रवालका अनुसार शोरुममा १० रुपैयाँदेखि एक लाख रुपैयाँसम्म मूल्यका विभिन्न प्रकारका पेन उपलब्ध छन्।
उनले पाइलट ब्रान्डका बल पेन, जेल पेन, फाउन्टेन पेन, साथै हाइलाइटर, मार्कर, पेन्सिल, इरेजर र लेखेर मेट्न मिल्ने पेन समेत उपलब्ध रहेको जानकारी दिइन्। ग्राहकलाई आकर्षित गर्न कम्पनीले सबै प्रोडक्टमा १० प्रतिशत छुट र विद्यार्थीहरूका लागि एक वर्षसम्म ५ प्रतिशत विशेष छुटको व्यवस्था गरेको छ।

हाल काठमाडौंको न्यूरोड र कमलादीमा शाखा सञ्चालनमा रहेको फेयर ट्रेड कर्पोरेसनले छिट्टै विराटनगरमा पनि आउटलेट विस्तार गर्ने तयारी गरेको जनाएको छ। देशभर कम्पनीका धेरै डिलरहरू रहेको जानकारी पनि दिइएको छ।
गुणस्तर, लेखनको सहजता र दीर्घायुका कारण पाइलट पेनलाई अन्य ब्रान्डको तुलनामा उत्कृष्ट मानिने गरिन्छ। पोखरामा आधिकारिक आउटलेट सञ्चालनमा आएसँगै विद्यार्थी, व्यवसायी र लेखनप्रेमीहरूका लागि विश्वस्तरीय लेखन सामग्री अब सजिलै उपलब्ध हुने अपेक्षा गरिएको छ।
