काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ४ ठुला राजमार्गमा ७९५ किलोमिटर सडक कालोपत्रे गर्ने भएको छ । आगामी वर्ष मदन भण्डारी राजमार्गमा १५५, मध्य पहाडी लोकमार्गमा ३५०, हुलाकी राजमार्गमा २५० र उत्तर दक्षिण करिडोर अन्तर्गत कालिगण्डकी करिडोरको ९० किलोमिटर सडक कालोपत्रे गर्ने भएको हो ।
हुलाकी राजमार्ग भारतको सहयोगमा निर्माण सुुरु भएको हो भने बाँकी राजमार्ग स्वदेशी लगानीमा कालोपत्रे हुने भएका छन । सडक कालोपत्रे गर्न सरकारले अर्बौ रुपैयाँ खर्च गर्दै छ ।
मदन भण्डारी राजमार्ग आगामी ५ वर्षमा सम्पन्न गर्ने सरकारको लक्ष्य छ । यो राजमार्ग अन्तर्गत झापादेखि धरान खण्डमा पुल निर्माणको काम सुरु गर्ने योजना सरकारको छ । मध्यपहाडी पुष्पलाल राजमार्गको काम आगामी ३ वर्षभित्र सक्ने सरकारको तयारी छ ।
कोसी र कर्णाली सडक करिडोरको ट्रयाक खोल्ने काम सम्पन्न गरी थप स्तरोन्नोतिको काम थाल्ने सरकारले शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाटदेखि बुटवल खण्ड सडकलाई चार लेनमा विस्तारको काम सुरु भएको छ । पूर्व पश्चिम राजमार्गको सम्पूर्ण
खण्डलाई चार लेनमा विस्तार गर्ने योजना सरकारको छ । यस राजमार्गको कमला–कञ्चनपुर खण्डको विस्तार ३ वर्षभित्र सम्पन्न हुने छ ।
काठमाडौं–तराइ–मधेश द्रुतमार्गको काम आगामी ३ वर्षमा सकिने भएको छ । जटिल पुलहरुको निर्माण आगामी वर्षबाट सुरु हुने भएका छन ।
काठमाडौंको नागढुङा सुरुङ मार्गको १ किलोमिटर काम सक्ने लक्ष्य छ । यस्तै सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डको सिद्धवावा क्षेत्रमा सुरुङ खन्ने काम सुरु गरिने भएको छ । बेत्रावती र स्याफ्रुवेसी, टोखा छहरे गुर्जेभन्ज्याङ, खुटियादेखि दिपायलसम्म सुरुङको काम अघि बढ्ने भएको छ ।
कोरोना भाइरस महामारीका कारण यी सडक निर्माणको काम ठप्प भएका छन । कारोना महामारी लम्बिंदै गएमा यी सडक कालोपत्र गर्ने काम अगामी वर्ष पनि प्रभावित हुने संभावना छ ।