काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुको अनुगमनकारी निकाय नेपाल राष्ट्र बैंकले थप एउटा संरचना स्थापना गरेको छ।
राष्ट्र बैंकले स्थापना गरेको नयाँ प्रशासनिक संरचना ‘तथ्यांक महाशाखा’बाट सम्पूर्ण वित्तीय तथा मौद्रिक तथ्यांकलाई एकीकृत, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्य राखिएको बताएको छ।
नयाँ महाशाखाले आवश्यक समन्वय गरी तथ्यांक संकलन, प्रमाणीकरण, विश्लेषण र प्रकाशनलाई थप प्रभावकारी बनाउने अपेक्षा राष्ट्र बैंकको छ।
मौद्रिक नीति निर्माण, वित्तीय स्थायित्व मूल्यांकन तथा जोखिम पूर्वानुमानका लागि विश्वसनीय र रियल–टाइम डाटाको आवश्यकता बढ्दै गइरहेको सन्दर्भमा नयाँ महाशाखा स्थापना गरिएको हो।
गभर्नर डा. विश्वनाथ पौडेलको प्रत्यक्ष निगरानीमा रहने तथ्यांक महाशाखाले वित्तीय तथा मौद्रिक तथ्यांकलाई एउटै प्लेटफर्ममार्फत व्यवस्थापन गर्नेछ। नयाँ संरचनाले दोहोरोपना हटाउने, तथ्यांकको गुणस्तर सुधार हुने तथा समयमै प्रतिवेदन सार्वजनिक गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
केन्द्रीय बैंकले पछिल्लो समय डिजिटल रिपोर्टिङ प्रणाली, सुपरिवेक्षण प्रविधि र नियामकीय प्रविधि प्रयोगलाई विस्तार गर्दै आएको छ। सोहीअनुसार अहिले नयाँ प्रशासनिक संरचना स्थापना गरिएको हो।
राष्ट्र बैंकले स्थापना गरेको नयाँ संरचनाको जिम्माधिकारी भने तोकेको छैन।