काठमाडौं। २० वाणिज्य बैंकका ऋणीले ६ महिने अवधिमा विभिन्न खर्च शीर्षकमा लिइएको ऋणबाट २ खर्ब ३० अर्ब ८३ करोड ७२ लाख रुपैयाँ ब्याज तिरेका छन्। गत आवको ६ महिनासम्म ऋणीले २ खर्ब ५४ अर्ब २ करोड ९२ लाख रुपैयाँ ब्याज तिरेकामा चालू आवमा ९.१३ प्रतिशतले यस्तो ब्याज घटेको हो।
बैंकहरुले प्रकाशित गरेको ६ महिने विवरणमा यस्तो देखिएको हो।
बैंकबाट व्यक्तिगत, सवारीसाधन, व्यवसाय, घरजग्गालगायतमा लिएको ऋणबापत उनीहरुले बैंकलाई ब्याज तिरेका हुन्छन्।विवरणअनुसार ऋणीले चालू आवको पुससम्म ग्लोबल आइएमई बैंकलाई २० अर्ब ८ करोड ७० लाख रुपैयाँ ब्याज तिरेका छन् भने नबिललाई १९ अर्ब २० करोड ८ लाख, नेपाल इन्भेष्टमेन्ट मेगालाई १६ अर्ब १३ करोड ८५ लाख रुपैयाँ तिरेका छन्।
यस्तै, कुमारीलाई १५ अर्ब १७ करोड ५८ लाख, राष्ट्रिय वाणिज्य बैंकलाई १४ अर्ब ४८ करोड ४० लाख, लक्ष्मी सनराइजलाई १२ अर्ब ८२ करोड, एनआईसी एसियालाई १२ अर्ब ३ करोड ३० लाख ऋण तिरेको विवरणमा उल्लेख छ।
यसैगरी हिमालयन बैंकलाई ११ अर्ब ८१ करोड १७ लाख, प्रभुलाई ११ अर्ब ७२ करोड ६५ लाख, प्राइम कमर्सियललाई ११ अर्ब २१ करोड ८४ लाख, एनएमबीलाई १० अर्ब ६५ करोड ३५ लाख, कृषि विकासलाई १० अर्ब ४६ करोड ५ लाख रुपैयाँ ब्याज तिरेका छन्।
यस्तै, ऋणीले ब्याजबापत सिद्धार्थ बैंकलाई १० अर्ब ४३ करोड १२ लाख, नेपाल बैंकलाई १० अर्ब ३७ करोड ७६ लाख, एभरेष्ट बैंकलाई १० अर्ब १७ करोड ८० लाख, सानिमालाई ८ अर्ब ४६ करोड ६३ लाख, सिटिजन्सलाई ७ अर्ब ७२ करोड ३८ लाख, नेपाल एसबिआईलाई ७ अर्ब २७ करोड, माछापुच्छ्रेलाई ६ अर्ब ८५ करोड २५ लाख रुपैयाँ र स्ट्यान्डर्ड चार्टर्डलाई ३ अर्ब ७२ करोड ७० लाख रुपैयाँ तिरेका छन्।
गत आव पुससम्म ऋणीबाट लिएको ब्याजको तुलनामा चालू आवको सोही अवधिसम्म १९ बैंकको ब्याज घटेको छ भने राष्ट्रिय वाणिज्य बैंकको मात्रै ८.७६ प्रतिशतले बढेको छ।