सर्लाही। बिहान ९ नबज्दै सर्लाही क्षेत्र नम्बर ३ र ४ का मतदाता खेतबारीमा पुगिसकेका हुन्छन्। सर्लाहीका फाँटमा घाम उक्लन नपाउँदै उनीहरु पसिना बगाउन उखुबारीमा भेटिन्छन्। खेतहरू बिहानैदेखि जागिसकेका छन्। उखु काट्ने हँसियाको आवाज, बोक्ने ट्याक्टर, उखुका बेर्ना रोप्दा खन्ने कोदालो र आलु रोप्न ट्रयाक्टर दौडाई- यही दृष्य देखिन्छ सर्लाहीमा।
यी फाँटमा, यी खेतका आलीमा, यही माटोको गन्धबीच यतिखेर अर्को एउटा कुरा पनि उम्रिरहेको छ- चुनावी चर्चा। हातमा हँसिया समाएका किसान, काँधमा भारी बोकेका मजदुर र आलुको बोरा बाँध्दै गरेका महिलाहरूका ओठमा आजकाल उम्मेदवारका नाम र नारा पनि चल्छन्। सर्लाहीमा यस पटक दुई मौसम एकसाथ आएका छन्- उखु सिजन र चुनावी मौसम।
घरमा खोज्छन् नेता, खेतमा छन् मतदात
चुनाव प्रचार तीव्र हुँदै गएपछि उम्मेदवारहरू घरदैलो अभियानमा निस्किएका छन्। टोलटोलमा पुग्ने। घरघरमा ढोका ढक्ढकाउने। मत माग्ने। यही नै यतिखेरको उम्मेदवारहरूको दैनिकी हो। तर, सर्लाहीका धेरैजसो गाउँहरूमा उनीहरूले ढोका ढक्ढकाउँदा जवाफ आउँदैन। घर सुनसान छ। भित्र कुकुर मात्र भुकिरहेको छ।
-1771502335.jpg)
जताततै यही दृश्य दोहोरिन्छ। बिहान घरबाट निस्कने, दिउँसो खेतैमा खाजा खाने, साँझ अँध्यारो भएपछि मात्र घर फर्कने। यही छ, यतिखेर सर्लाहीका किसानको दैनिकी। उम्मेदवारलाई भेट्ने फुर्सद कहाँ छ उनीहरुलाई?
बसबरीयाकी ४५ वर्षीया निलमदेवी खेतमै भेटिन्छ। उखुको डाँठ काट्दै उनी भन्छिन्, 'नेता जी घरमा आउनुभएछ रे भन्या सुन्छु। तर हामी त बिहानैदेखि यहाँ छौँ। घरमा को हुन्छ र? खेत छाडेर घरमा बस्यो भने खाना के खाने?'
अनि एकछिन रोकिएर भन्छिन्, 'चुनावमा भोट हाल्ने बेला हामी जान्छौँ। त्यस दिन खेत छाड्छौँ।'
यही कुरा सर्लाहीको राजनीतिक यथार्थ पनि हो। मतदाता विमुख छैनन्- उनीहरू व्यस्त छन्। उनीहरूको उत्साह छ। तर, त्यो उत्साह मतदानको दिन खेत छाडेर मतपेटीकामा पुग्ने रूपमा प्रकट हुन्छ। आज आएका नेतासँग हात मिलाएर होइन।
बाटोभरि उखुका ट्रक, भित्तामा पोस्टर
सर्लाहीका सडकमा यतिखेर दुई किसिमका सवारी दौडिन्छन्। एकातिर उखुका भारी लदिएका ट्रक र ट्याक्टर मिलतिर हुइँकिएका छन्। उखुका टुक्राहरू बाटोमा खसिरहेका छन्। र, मिठो गन्ध वरपर फैलिएको छ। अर्कातिर उम्मेदवारका फ्लेक्स, झण्डा र ब्यानरले भित्ता र खम्बाहरू भरिएका छन्। हरेक रंगको राजनीति सडकका दुई किनारमा झुन्डिएका छन्।
-1771502335.jpg)
पीच बाटाे नै ढाकेर हिडने उखुका ट्रक र त्यसैको छेउमा उम्मेदवारका पोस्टर- यही हो यतिखेरको सर्लाहीको दृश्य। मानौँ देश र किसानको जीवन यहाँ एउटै फ्रेममा अटाएका छन्- एकातिर बाँच्नका लागि गरिने श्रम, अर्कातिर शासन छान्ने अधिकार।
बगदह उखु मिलतिर ट्याक्टर हाँक्दै गरेका ४० वर्षीय रामजनम महतो भन्छन्, 'दिनमा चार/पाँच चक्कर लगाउनुपर्छ। उखु काटियो, मिलमा पुर्याइयो, पैसा आयो- तब घर चल्छ। नेताको कुरा साँझपख गर्छौं।'
अनि मुस्कुराउँदै थप्छन्, 'तर भोट चाहिँ राम्रैलाई दिन्छौँ, त्यो पक्का छ।'
उखु मिलका मजदुर झन् व्यस्त छन्। मिलमा उखु आउने क्रम बढ्दो छ। राति पनि मिल चलिरहन्छ। मजदुरहरू सिफ्टमा काम गर्छन्। उनीहरूका लागि चुनाव 'एक दिनको बिदा’ हो। र, त्यो बिदालाई उनीहरू सोचेर। छानेर। अर्थपूर्ण ढंगले प्रयोग गर्न चाहन्छन्।
खेतका आलीहरू यतिखेर अनौपचारिक 'राजनीतिक मञ्च’ बनेका छन्। काम गर्दै गर्दा, खाजा खाँदै गर्दा उम्मेदवारको तुलना हुन्छ, नेताको लेखाजोखा हुन्छ।
यसपटक कसलाई भोट दिने?
५५ वर्षीय जग्गेसर राय भन्छन्, 'यो बीचमा कसले के गर्यो भनेर हेर्छौं। हाम्रो खेतसम्म बाटो पुर्याउने काम भयो कि भएन। उखुको भुक्तानीका लागि लबिङ गर्यो कि गरेन। बिरामी पर्दा उपचारका लागि सहयाेग गर्याे गरेन। हाम्रा मुद्दा सडक र सदनमा पुग्यो पुगेन। यिनै कुरा हेरेर भोट हाल्छौँ।' ती मतदाताका अनुसार जो जितेर हामीमाथि नै थिचोमिचोमा उत्रिन्छ। उसलाई यो पटक भोट नहाल्ने हो।
-1771502334.jpg)
सर्लाहीका मतदाता ठूला दार्शनिक बहसमा छैनन्- उनीहरूको राजनीति जमिनसँग जोडिएको छ। माटोसँग जोडिएको छ। दैनिक जीवनका स-साना संघर्षसँग जोडिएको छ।
उनीहरू आलु रोप्दै छन्। एक जना उठेर भन्छिन्, 'यसपटक महिलाको कुरा गर्ने, महिलाको लागि काम गर्ने मान्छेलाई हेर्छौं।'
किसानका पीडा, चुनावको सन्दर्भमा
सर्लाही तराईको कृषि बेल्टमा पर्छ। यहाँको अर्थतन्त्रको मेरुदण्ड नै कृषि हो। उखु, धान, गहुँ, आलु, तरकारी- यिनै बालीले यहाँका लाखौँ परिवारको जीवन धान्छन्। तर, वर्षौंदेखि किसानले भोग्दै आएका समस्याहरू ज्युँको त्यूँ छन्।
उखुको भुक्तानीमा ढिलासुस्ती सबभन्दा ठूलो पीडा हो। उखु बेचेको महिनौँ बित्दा पनि भुक्तानी नपाउने अवस्था सर्लाहीका धेरै किसानको अनुभव छ। 'उखु मिलमा दियो, पैसा कहिले आउँछ थाहा छैन। त्यही पैसाले बच्चाको फी तिर्नुछ, मल किन्नु छ। तर महिनौँ कुर्नुपर्छ,' बरहथवाका ५० वर्षीय मोहन यादव भन्छन्।
-1771502333.jpg)
सिँचाइको समस्या पनि उत्तिकै ठूलो छ। नहर छ- पानी छैन। मनसुन बिग्रिएको वर्ष खेत सुक्खा हुन्छ। ट्युबवेलको सहारा लिनुपर्छ। तर, बिजुली छैन। बिजुली आयो- पम्प बिग्रिन्छ। यो चक्र वर्षौंदेखि चलिरहेको छ।
मलखाद समयमै नपाउनु अर्को समस्या हो। मूल्य आकाशिएर खेप्नु परेको छ। रासायनिक मलको कालोबजारी बन्द भएको छैन। समयमा बीउ पाउन गाह्रो छ। यी सबै समस्याबीच किसान जीवन धानिरहेका छन्। यही जीवन धान्दाधान्दै उनीहरू आउने नेतृत्व छान्न तयार छन्।
खेतमा काम- चुनावको प्रतीक्षा
सर्लाहीका मतदाताहरू चुनावप्रति उदासीन छैनन्- बरु उनीहरू आतुर छन्। 'जुनसुकै पार्टी होस्, भोट हाल्न जान्छु। यो हाम्रो हक हो। यो हामीले छाड्नु हुँदैन,' ३५ वर्षीय सूर्यनारायण साह भन्छन्। उनी उखुको बेर्ना रोप्दै थिए। हात माटैमाटो थियो। तर, आवाजमा दृढता थियो।
उनी थप्छन्, 'हामीले गलत मान्छे छान्यौँ भने पाँच वर्ष भोग्नुपर्छ। त्यसैले सोचेर छान्नुपर्छ।'
यही सोच नै सर्लाहीको चुनावी परिपक्वताको सङ्केत हो। शिक्षाको पहुँच कम होला, जानकारीको अभाव होला- तर, जीवनको ठेस खाएका मान्छेहरूको आफ्नै किसिमको राजनीतिक बुझाइ छ। कुन नेताले काम गर्यो, कुनले झुठ बोल्यो, कुनले संकटमा साथ दियो- यो हिसाबकिताब उनीहरूसँग राम्ररी गर्न पाउने भएका छन्।
-1771502333.jpg)
यो चुनावमा सर्लाहीका उम्मेदवारका लागि सबभन्दा ठूलो चुनौती भनेकै किसानको विश्वास जित्नु हो। घरदैलो अभियानमा मतदाता घरमा भेटिँदैनन्। त्यसैले उम्मेदवारहरू खेतैमा पुगेका छन्।
माटोले सिकाएको राजनीति
सर्लाहीका खेत खाद्यान्न उत्पादनका केन्द्र मात्र होइनन्- यी खेतहरू लोकतन्त्रको जरा पनि हुन्। यहाँका मतदाताहरू दशकौँदेखि यही माटोमा काम गरेका छन्। यही माटोले उनीहरूलाई जीवन दिएको छ। यही माटोको हिसाबले उनीहरूले नेताहरूलाई पनि नाप्छन्।
-1771502333.jpg)
जसले माटोको पीडा बुझ्यो, जसले किसानको पसिनाको मोल जान्यो, जसले सिँचाइका लागि पानी, उखुको भुक्तानी र बाटोको माग पूरा गर्न काम गर्यो- त्यही नेतालाई यहाँ ठाउँ छ। बाँकीका लागि माटोले पनि ठाउँ दिँदैन।
उखु काट्दा-काट्दै, आलु रोप्दा-रोप्दै सर्लाहीका किसानहरू आफ्नो मतको निर्णय गरिसकेका छन्। उनीहरूलाई अब मतदानको दिनको प्रतीक्षा छ। आफ्नो कुरा सुन्ने नेता छान्न आतुर छन्।