काठमाडौं। वाणिज्य बैंकहरुले लगानीका लागि ऋणी नभेटाएपछि तरलता थुप्रिरहेका बेला आफ्ना कर्मचारीका लागि भने मन फुकाएर खर्च गरेको विवरण सार्वजनिक भएको छ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष साउनदेखि पुससम्म सार्वजनिक गरेको अपरिस्कृत विवरणअनुसार यो अवधिमा कर्मचारीको तलबभत्तामा २० वटा वाणिज्य बैंकले ३० अर्ब १५ करोड ४६ लाख रुपैयाँ खर्च गरेका हुन्।
अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा चालू वर्षको ६ महिनामा यस्तो खर्च ५.९० प्रतिशतले बढेको छ। अघिल्लो वर्ष बैंकहरुले कर्मचारीको तलबभत्तामा २८ अर्ब ४७ करोड ४३ लाख खर्चिएका थिए।
समीक्षा अवधिसम्म सबैभन्दा बढी खर्च गर्नेमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक रहेको छ। निजी क्षेत्रबाट नबिल बैंकले कर्मचारीलाई सबैभन्दा बढी रकम खर्चिएको छ। यद्यपि खर्च वृद्धिका हिसाबले सिटिजन बैंक अगाडि छ। अघिल्लो वर्षको तुलनामा १७ वटा बैंकको खर्च बढेको छ भने ३ वटाको घटेको छ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकसँगै एनआईसी एसिया र प्रभु बैंकको कर्मचारी तलबभत्ता खर्च घटेको छ भने बाँकी १७ वटाको बढेको अपरिस्कृत वित्तीय विवरणमा उल्लेख छ।
चालू आर्थिक वर्षको पुससम्म राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीको तलबभत्तामा सर्वाधिक २ अर्ब ३१ करोड ५६ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्षको समीक्षा अवधिसम्म बैंकले २ अर्ब ७ करोड ५० लाख रुपैया खर्च गरेको छ। अघिल्लो वर्षको तुलनामा बैंकको यस्तो खर्च ११.५९ प्रतिशतले बढेको छ।
यसैगरी कर्मचारीको तलबभत्तामा दोस्रो धेरै खर्च गर्नेमा नबिल बैंक रहेको छ। पुससम्म बैंकले २ अर्ब १४ करोड ६ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म १ अर्ब ८६ करोड ५६ लाख रुपैयाँ खर्च गरेको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको खर्च १४.७३ प्रतिशतले बढेको छ।
तेस्रो धेरै खर्च गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ। अघिल्लो वर्ष पुससम्म यो बैंकले कर्मचारीको तलबभत्तामा १ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ खर्च गरेकोमा समीक्षा अवधिमा ११.३२ प्रतिशतले बढेर २ अर्ब ५ करोड ३३ लाख रुपैयाँ पुगेको छ।
कर्मचारीको तलबभत्तामा खर्च वृद्धि दरका हिसाबले सिटिजन बैंकको सर्वाधिक २२.९७ प्रतिशत रहेको छ। अघिल्लो वर्ष बैंकले ८३ करोड ८९ लाख रुपैयाँ खर्च गरेकोमा समीक्षा अवधिमा बढेर १ अर्ब ३ करोड १६ लाख पुगेको छ।
समीक्षा अवधिसम्म कर्मचारीको तलबभत्तामा सर्वाधिक कम खर्च स्ट्यान्डर्ड चार्टर्ड बैंकले गरेको छ। बैंकले ५२ करोड २२ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष यही अवधिससम्म बैंकले ५४ करोड ३० लाख रुपैयाँ खर्च गरेको थियो।
स्ट्यान्डर्ड चार्टर्ड बैंकसँगै एनआईसी एसिया र प्रभु बैंकको कर्मचारी तलबभत्ता खर्च घटेको छ भने बाँकी १७ वटाको बढेको अपरिस्कृत वित्तीय विवरणमा उल्लेख छ। कुमारी बैंकले ४.८१ प्रतिशतले खर्च बढाएर २ अर्ब १ करोड ८० लाख २० हजार पुर्याएको छ।
लक्ष्मी सनराइज बैंकले ७.२७ प्रतिशतले खर्च बढाएर २ अर्ब १ करोड २१ लाख ३० हजार पुगेको छ। कृषि विकास बैंकले गत वर्षको १ अर्ब ८१ करोड ४१ लाख ७० हजारबाट २.८१ प्रतिशतले वृद्धि गरी यस वर्ष १ अर्ब ८६ करोड ५१ लाख ५० हजार रुपैयाँ खर्चिएको छ।
प्रभु बैंकको खर्चमा ४.१५ प्रतिशतले गिरावट आएको छ। गत वर्ष १ अर्ब ८७ करोड ५९ लाख २० हजार खर्च गरेको बैंकले यस वर्षको हालसम्म १ अर्ब ७९ करोड ८० लाख रुपैयाँ मात्र खर्चिएको छ।
हिमालयन बैंकले ५.२५ प्रतिशतको वृद्धिसहित १ अर्ब ६५ करोड ९४ लाख ८० हजार, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.६१ प्रतिशतको वृद्धिसहित १ अर्ब ५९ करोड ५ लाख ६० हजार खर्च गरेका छन्।
एनआईसी एसियाले कर्मचारी खर्चमा १४.८३ प्रतिशतले कटौती गरेको छ। गत वर्ष १ अर्ब ७३ करोड २६ लाख ८० हजार रुपैयाँ खर्च गरेको बैंकले चालू आवको हालसम्म १ अर्ब ४७ करोड ५८ लाख रुपैयाँ मात्र खर्च गरेको छ।
सिद्धार्थ बैंकले ७.८५ प्रतिशतले खर्च बढाएर १ अर्ब ४६ करोड १० लाख ६० हजार रुपैयाँ र एनएमबी बैंकले २.६३ प्रतिशतले वृद्धि गरी १ अर्ब ३७ करोड १९ लाख ५० हजार रुपैयाँ खर्च गरेका छन्।