काठमाडौं। पछिल्लो समय सुनचाँदीमा पैसो खन्याउँदै लगानीकर्ताका यो साता भने सुखद रहेन। यो साता सुन मूल्यमा खासै बढ्त्तरी भएन। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत फागनु १ देखि ८ सम्म सुनको मूल्य १२०० रुपैयाँले मात्र बढेको छ।
अघिल्ला सातामा २० देखि ३० हजारसम्म बढ्ने गरेको सुनको मूल्यमा याे साता धेरै उतारचढान नआएको हो। अर्थात, प्रतितोला ३ लाखमाथिकै मूल्यदरमा सुनको कारोबार निरन्तर रहेको छ।
फागनु १ मा ३ लाख ३ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य शुक्रबारसम्म आइपुग्दा ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

महासंघका अनुसार, फागुन ३ गते सुनको मूल्य बढेर ३ लाख ५ हजार ८०० रुपैयाँ पुगेको थियो। अघिल्लो दिनको तुलनमा त्यसदिन प्रतितोला सुनको मूल्य १ हजार ८०० रुपैयाँले बढेको थियो।
त्यस्तै, फागुन ४ गते प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँ, फागुन ५ गते ३ लाख १ हजार ९०० रुपैयाँ, फागुन ६ गते ३ लाख ४०० रुपैयाँ र फागुन ७ गते ३ लाख ४ हजार ७०० रुपैयाँमा सुन कारोबार भएको थियो।
यसअघि ३ लाख ३६ हजार रुपैयाँसम्म पुगेको प्रतितोला सुनको मूल्य यतिबेला पुनः बढ्ने क्रममा रहेको सुन व्यवसायीको बताउँछन्। अन्तराष्ट्रिय बजारमा सुनको सञ्चिति बढेको र अमेरिका, इरान, रसियालगायतमा भइरहेका अशान्तिको प्रत्यक्ष असर सुनमा परेको व्यवसायी ठम्याइ छ।
यस्तै, याे साता चाँदीकाे मूल्यमा पनि खासै फेरबदल भएकाे छैन।