काठमाडौं। लगातार बढिरहेको इन्धनको मूल्य वृद्धिका कारण दुई पांग्रे विद्युतीय सवारी (ईभी) को स्टक सकिन थालेको छ। वर्षाैंसम्म सोरुममा थन्किएका दुई पांग्रे ईभी अहिले बिक्री हुन थालेका हुन्। केही चल्तीका ब्राण्डबाहेक अन्य ब्राण्डका स्कुटरहरु वर्षौंदेखि स्टकमा रहिरहेको बेला मध्यपूर्वको तनावपछि ईभी स्कुटरको खोजी गर्नेहरुको संख्या बढेको हो। त्यसको नतिजा स्वरुप वर्षौंदेखि स्टक हुँदै आएको स्कुटरको बिक्री बढेको मात्र हैन स्टक सकिएको व्यवसायीहरुको भनाइ छ।
विगतमा ईभी स्कुटरप्रति उपभोक्ताको आकर्षण निकै कम थियो। ‘रेन्ज एन्जाइटी,’ ब्याट्रीको वारेन्टी र पर्याप्त चार्जिङ पूर्वाधारको अभावका कारण लामो समयदेखि नेपालमा ईभी स्कुटर आयात भए पनि यसको बिक्री सुस्त थियो। वर्षौंसम्म बिक्री हुन सकेका थिएनन्। तर, पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धिसँगै नेपाली बजारमा पेट्रोलको मूल्य निरन्तर बढ्न थालेकाले उपभोक्ता वैकल्पिक सवारीतर्फ आकर्षित हुन थालेका हुन्। योसँगै दुई पांग्रे ब्रान्डका स्टक सकिन थालेको व्यवसायीहरुको भनाइ छ।
इन्धनको मूल्य बढेसँगै उपभोक्ता ईभी बाइक तथा स्कुटरतर्फ आकर्षित भइरहेको वैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सूर्यांश वैद्य बताउँछन्। ‘केही समयअघिसम्म ईभी बाइक तथा स्कुटरमा ग्राहक उत्साह तुलनात्मक रूपमा कम देखिए पनि अहिले यो प्रवृत्ति परिवर्तन भएको छ,’ उनले भने, ‘विगतमा ईभी हिस्सा ३ प्रतिशत थियो भने इन्धन बाइक तथा स्कुटरको हिस्सा ९७ प्रतिशत थियो। तर, इन्धनको मूल्य वृद्धि भएसँगै यो परिवर्तन भएको छ।’
उनका अनुसार पेट्रोल र डिजेल मूल्यमा भइरहेको निरन्तर वृद्धिसँगै नेपाली बजारमा उपभोक्ता ईभीतर्फ आकर्षित हुने क्रम बढेको देखिएको छ। सोही कारण एथर, चेतक, टिभिएस सबै ईभी ब्रान्डको बिक्री बढेको छ। अहिले ईभी बाइक तथा स्कुटरमा ग्राहकलाई रेन्ज एन्जाइटी भए पनि बिक्री बढेको छ।
हाल दुई पांग्रे ईभीको माग एक्कासी बढेपछि कतिपय ब्रान्डहरुलाई बजारमा माग धान्न गाह्रो भइरहेको छ। केहीको स्टक सकिएको छ। सामान डम्प भएर घाटा लाग्ने डरले व्यवसायीले थोरै-थोरै मात्रामा मात्र ईभी बाइक तथा स्कुटर आयात गर्ने गरेका कारण पनि एक्कासी माग बढ्दा बजारमा अभाव जस्तो देखिन थालेको हो।
कुजु नेपालका प्रबन्ध निर्देशक उम्मिद श्रेष्ठका अनुसार व्यवसायीहरुले धेरै स्टक राख्दैनन्। सानो-सानो परिमाणमा मात्रै ईभी बाइक स्कुटर मगाउँछन्। ‘धेरै स्टक राख्दा बिक्री नहुँदा घाटा हुने जोखिम हुन्छ। तर, यसपालि एक्कासी बजारमा माग बढ्दा सामान अपुग भयो, अहिले थप अर्डर गरिरहेका छौँ,’ इन्धन महँगो हुँदा मानिसहरू बाध्य भएर विकल्प खोजिरहेको उनको भनाइ छ।
दुई पांग्रे ईभीमा जान ‘रेन्ज एन्जाइटी’ का कारण विगतमा ग्राहकहरुले पेट्रोल स्कुटर नै रोज्ने गरेका थिए।
‘पेट्रोल डिजेलको मूल्य वृद्धिले पक्कै पनि बजारमा प्रभाव पारेको छ। इन्धन महँगो हुँदा यसको प्रत्यक्ष असर उपभोक्ताको दैनिक खर्चमा पर्छ। दिनहुँ सवारी प्रयोग गर्नेले महिनामा हजारौँ रुपैयाँ बढी खर्चिनुपर्छ,’ श्रेष्ठले भने। उनका अनुसार इन्धनको मूल्य वृद्धिको कारणले उपभोक्ताहरू विकल्पतर्फ आकर्षित हुन थालेका छन्। अहिले मानिसहरूमा अझै पेट्रोलको मूल्य बढ्ने चिन्ता छ। त्यसैले विद्युतीय सवारीतर्फ चासो बढेको छ, बजारमा फ्लो आएको छ।
दुई पांग्रे ईभीमा जान ‘रेन्ज एन्जाइटी’ का कारण विगतमा ग्राहकहरुले पेट्रोल स्कुटर नै रोज्ने गरेका थिए। तर, अहिले भने धेरै ब्रान्डका स्टक सकिएको छ। अहिले निरन्तर भइरहेको इन्धनको मूल्य वृद्धिका कारण ईभी स्कुरटको माग दिनप्रतिदिन बढ्दै गएको सेगवेयका मनिष मुरारका बताउँछन्।
‘एक वर्षदेखि हामीसँग स्टक थिएन। तर पेट्रोलको मूल्य बढेको समयमा हाम्रो नयाँ स्टक आइपुग्यो,’ उनले भने, ‘अहिले दैनिक रूपमा स्कुटरहरू बिक्री भइरहेका छन्। बजारमा राम्रो ग्रोथ देखिएको छ।’ अहिले दैनिक १-२ वटा स्कुटर बिक्री भइरहेको उनको भनाइ छ।
मुरारकाअनुसार विशेषगरी दैनिक अफिस जाने कर्मचारी, बैंकर र शिक्षक पेट्रोलका सवारीसाधन छोडेर ईभीमा सिफ्ट हुन थालेका छन्। इन्धनको मूल्य निरन्तर बढण्काले इन्धन बाइक स्कुटरमा महिनामै ३/४ हजार रुपैयाँको पेट्रोल खर्चिनुपर्ने बाध्यता हटाउन ग्राहकहरु इभीतिर मोडिएका हुन् जसका कारण अहिले ईभी बाइक तथा स्कुटरको व्यापार निकै राम्रो हुँदै गएको छ।
यसले दैनिक यात्रा गर्ने उपभोक्ताको खर्च बढाएको छ र उनीहरूलाई वैकल्पिक विकल्पतर्फ जान बाध्य बनाएको छ।
चार पांग्रे ईभीका लागि विभिन्न ठाउँमा चार्जिङ स्टेसनहरु निर्माण हुँदै गए पनि दुई पांग्रेका लागि त्यस्तो भरपर्दो पूर्वाधार थिएन। त्यसमाथि नेपालको भौगोलिक बनोट, उकालो ओरालो बाटो र घरबाहिर निस्किएपछि कहाँ चार्ज गर्ने भन्ने अन्योलले ग्राहकको मनमा गहिरो चिन्ता पैदा हुन्थे। एक पटक फुल चार्ज गरेपछि कति किलोमिटर गुड्छ? उकालोमा तान्छ कि तान्दैन? ब्याट्री बिग्रियो फेर्न मिल्छ पकि मिल्दैन? फेर्नुपरेयो भने कति खर्च लाग्छ? यस्ता प्रश्न र ‘रेन्ज एन्जाइटी’का कारण विद्युतीय स्कुटरहरु वर्षौंसम्म शोरुममै थन्किएर बसेका थिए।
तर, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उतारचढाव र मध्यपूर्व क्षेत्रमा बढेको तनावका कारण नेपालमा पेट्रोल डिजेलको मूल्य लगातार बढ्दै गएको छ। यसले दैनिक यात्रा गर्ने उपभोक्ताको खर्च बढाएको छ र उनीहरूलाई वैकल्पिक विकल्पतर्फ जान बाध्य बनाएको छ। विगतमा दुई पांग्रे ईभीमा ग्राहकको खासै चासो नहुँदा निराश बनेका व्यवसायीहरु अहिले स्टक रित्तिएर नयाँ अर्डर लिन व्यस्त बनेका छन्।