काठमाडौं। होली पर्वलाई लक्षित गर्दै टाटा मोटर्स का आधिकारिक वितरक सिप्रदी ट्रेडिङ ले कमर्सियल सवारी साधनका लागि विशेष ‘होली सर्भिस क्याम्प’ सुरु गरेको छ। सुरक्षित यात्रा र सवारी साधनको उच्च कार्यक्षमता सुनिश्चित गर्ने उद्देश्यले फागुन १० देखि १५ गतेसम्म सञ्चालन हुने क्याम्प देशभरका सिप्रदीका २० वटा सर्भिस सेन्टरमा एकै साथ आयोजना गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार सवारी साधनको नियमित परीक्षण र मर्मतले मात्र यात्रालाई सुरक्षित र भरपर्दो बनाउन सक्छ। सोही लक्ष्यका साथ क्याम्पमा सहभागी गाडीहरूको १० प्रमुख प्वाइन्टमा विस्तृत जाँच गरिनेछ। जसअन्तर्गत ब्रेक सिस्टम, कुलिङ सिस्टम, इन्जिन हेल्थ तथा ल्युब्रिकेशन, टायर तथा व्हील सेफ्टी, इलेक्ट्रिकल सिस्टम, स्टेरिङ र सस्पेन्सन, क्लच र ट्रान्समिसन, क्याबिन सेफ्टी, च्यासिस तथा अन्डरबडी चेक र इमरजेन्सी तथा सेफ्टी सम्बन्धी जाँच समावेश छन्।
क्याम्प अवधिमा मर्मत तथा सर्भिस आवश्यक पर्ने गाडीहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। टाटा जेन्युइन पार्ट्समा १५ देखि २० प्रतिशतसम्म छुट, ल्युब्रिकेन्टमा २२ प्रतिशत छुट र लेबर चार्जमा ५० प्रतिशतसम्म छुट प्रदान गरिनेछ। साथै, सर्भिस प्याकेजमा दर्ता हुने ग्राहकले यही सुविधा एक वर्षसम्म प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
यसैगरी, प्रि–सर्भिस बुकिङ गरी वर्कशपमा आउने ग्राहकहरूमध्ये भाग्यशाली तीन जनालाई स्मार्टफोन उपहारको व्यवस्था गरिएको छ। क्याम्प अवधिमा २ हजारभन्दा बढी कमर्सियल गाडीको चेकअप गर्ने लक्ष्य कम्पनीले राखेको छ।
होलीजस्तो चाडपर्वमा यात्राको चाप बढ्ने भएकाले सवारी साधनको समयमै परीक्षण र मर्मतले दुर्घटना जोखिम न्यून गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।