काठमाडौं। पर्साको वीरगञ्ज महानगर क्षेत्रमा कर्फ्युआदेश जारी भएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले सोमबार बिहान पौने १० बजेदेखि अर्को आदेश जारी नहुँदासम्म वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु आदेश आदेश जारी गरेका हुन्।
आइतबार वीरगञ्ज क्षेत्रमा दुई समुदायबीच झडप भएको थियो। उक्त झडपले ठूलो रूप लिन सक्ने भन्दै प्रशासन कार्यालयले वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो।
प्रशासनले पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म सीमा तोकेको छ। यस अवधिमा कसले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक नगर्न प्रशासनले अनुरोध गरेको छ।
एम्बुलेन्स, दमकल, शव बाहन, स्वास्थ्यकर्मीका सवारीसाधन, सञ्चारकर्मीहरू, विश्वविद्यालयका पूर्व निर्धारित परीक्षाका परीक्षार्थी एवं कर्मचारी, पर्यटक सवारीसाधन, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारीसाधन र हवाई टिकटका आधारमा यात्रु आवागनका लागि सुरक्षाकर्मीले सहजीकरण गर्ने प्रशासनको सूचनामा उल्लेख छ।
